अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वरिष्ठ पत्रकार रिसालको निधनको खबरले मर्माहत भएको छु: प्रधानमन्त्री ओली

वरिष्ठ पत्रकार रिसालको निधनको खबरले मर्माहत भएको छु: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकोमा दुःख व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जालमा लेख्दै पत्रकार रिसालको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले पत्रकार रिसालसँग फागुन २१ भेट भएको स्मरण गर्दै त्यही भेट अन्तिम हुन पुगेको बताउनु भएको छ।

दिवङ्गत रिसालको ९६औँ जन्मदिनको अवसरमा भएको भेटघाटको तस्बिर सहितसहित पोस्ट गरिएको स्टाटस्मा प्रधानमन्त्री ओलीले भन्नुभएको छ– ‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो। उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु। वरिष्ठ पत्रकार दिवङ्गत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

पत्रकार रिसालको ९७ वर्षको उमेरमा आइतबार साँझ पौने ८ बजेतिर निधन भएको थियो। मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहनुभएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो। वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गर्नुभएको थियो।

वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन्। उहाँले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए । वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार समेत बन्नुभएको थियाे।

वरिष्ठ पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस)मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए। लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए। रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन्। उहाँका श्रीमती, दुई छोरा र दुई छोरी छन्।