अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दमकमा नेकपा एमालेकाे जागरण सभा किन ?

दमकमा नेकपा एमालेकाे जागरण सभा किन ?


नेकपा एमाले देशभरि नै जागरण सभा गर्दैछ, झापाको दमकमा पनि गर्दैछ, किन ? यो कारण बुझ्न जरुरी छ।

कतिपयलाई लाग्दो हो, देशमा राजतन्त्रको भूत जागेको हुनाले त्यस विरुद्ध एमालेले जागरण सभा गरेको हो। यो कुरा आंशिक सत्य मात्र हो।

नेपालमा व्यापक जागरणको खाँचो छ। किन खाँचो छ ? यो प्रश्नमा प्रवेश गरौं। अहिले विश्व राजनीति अति अति नै जटिल बनेको छ। अमेरिकाले आफ्नो विदेश नीति पूरै फेरेको छ। त्यसको असर विश्वव्यापी परेको छ। आगामी दिनमा झन् धेरै असर पर्ने देखिन्छ। क्षेत्रीय शक्तिहरुले पनि आफ्नो दवदबा बढाउँदै लगेका छन्। यसको असर पनि नेपाललाई पर्ने देखिन्छ।

विश्वले आधा शताब्दी जति कोल्ड वार (शीत युद्ध)मा बितायो। कोल्ड वारको ठाउँ ट्रेड वारले लिएको छ। यस्तो अवस्थामा साना र विपन्न देशहरुको कठिन दिन सुरु भएको छ। विश्वमा भइरहेको परिवर्तन नेकपा एमाले तथा यसका अध्यक्ष केपी शर्मा ओलीले बेलैमा पहिचान गरेको हो। तपाईंहरुले कत्तिको ध्यान दिनुभएको छ, अघिल्लो वर्ष नेकपा एमालेले झुलाघाट चिवा भञ्ज्याङ यात्रा गर्दा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई बलियो बनाउने कुरा बारम्बार उठाउनु भएको थियो।

विश्वको बदलिँदो परिवेशमा नेपाल जस्तो साना र विपन्न देशका राष्ट्रिय शक्तिहरुमाथि प्रहार हुनेछ भन्ने कुरा बुझेरै अध्यक्ष ओलीले राष्ट्रिय शक्तिलाई बलियो बनाउने कुरा गर्नुभएको थियो। जब ओलीले राष्ट्रिय शक्ति बलियो बनाउने कुरा गर्न थाल्नुभयो, एमालेमाथि र अध्यक्ष ओलीमाथिको प्रहारलाई अझ कडा ढंगले अगाडि बढाए। जसरी हुन्छ नेपाललाई कमजोर बनाउने, नेपाललाई कमजोर बनाउन राष्ट्रिय शक्तिलाई कमजोर बनाउने, राष्ट्रिय शक्तिलाई कमजोर बनाउन एमालेलाई प्रहार गर्ने, एमालेलाई कमजोर बनाउन यसका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहार गर्ने रणनीति अपनाएका छन्।

तपाईंहरुले ध्यान दिएर हेर्नुभयो भने एमाले र अध्यक्ष ओली विरुद्ध भयानक दुष्प्रचार अभियान चलाइएको छ। भ्रम छर्ने, तथ्य बंगाउने, उत्तेजना फैलाउने, गलत तथ्य स्थापित गर्ने काम गरेर एमाले र ओलीलाई बदनाम बनाउन विशेष अभियान नै चलाइएको छ।

अहिले राजतन्त्रको भूत जागेको छ। राजतन्त्र बहाना मात्र हो। राजतन्त्र फर्काउने नाममा देशका राष्ट्रिय शक्तिहरुलाई कमजोर बनाउन प्रयास गरिँदैछ। नेपाललाई जटिल अवस्थामा फसाउने प्रयास गरिँदैछ। विश्व राजनीति अप्ठेरो बाटोमा गइरहेको बेलामा नेपाललाई अप्ठेरो पार्न विभिन्न पात्रहरु आविष्कार गरिँदैछ। दुर्गा प्रसाईं भन्ने पात्र आविष्कार गरियो, दुर्गालाई राजतन्त्रसँग गाँसियो, राजतन्त्रको आडमा हिँसा र चरित्र हत्याको अभियान चलाइयो। राजतन्त्रको आडमा वितण्डा मच्चाउन सकिएन भने उनीहरुले अरु कुनै बहाना निकाल्छन्, कुनै मुद्दा या इश्यू निकाल्छन्, नयाँ नयाँ फण्डा र पात्रहरु निकाल्छन्।

आजको जटिल विश्व राजनीतिमा नेपाललाई दह्रोसँग उभ्याउनका लागि नेकपा एमालेले जागरण सभा गर्न लागेको हो। जागरण सभाको उद्देश्य २०८४ को चुनाव मात्र होइन, जागरण सभाको उद्देश्य राजतन्त्र फर्काउने प्रयासको विरोध मात्र होइन, नेपाललाई अप्ठेरोमा पार्ने ग्राण्ड डिजाइनका विरुद्ध हो जागरण सभा।

तपाईंहरुले थाहा पाइसक्नुभयो होला, बंगला देशको पारवहनमा भारतले अवरोध गर्ने निर्णय गरेको छ। भारतको यो निर्णयले नेपाल र बंगलादेश बीचको व्यापार प्रभावित हुन्छ। बंगलादेश र भारतको आपसी सम्बन्ध र विवादबारे हाम्रो भन्नु केही छैन तर उनीहरुका कारण हामीलाई असर पर्न भएन। विश्व राजनीतिमा हुने उथलपुथलबाट नेपाललाई जोगाउन बलियो राष्ट्रिय शक्ति चाहिन्छ भनेर त्यसै भनिएको होइन। यो कुरालाई गहिरोसँग बुझ्नुपर्छ।

यसकारण म के भन्छु भने नेकपा एमालेले जागरण सभा गरेर जनता जगाउने जुन प्रयास थालेको छ, यसलाई सामान्य नठानौं।