अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भोलि दमकमा हुने एमाले जागरण सभालाई ऐतिहासिक बनाउँछौँ: शेरधन राई 

भोलि दमकमा हुने एमाले जागरण सभालाई ऐतिहासिक बनाउँछौँ: शेरधन राई 


काठमाडौं-नेकपा एमालेले चैत ३० गते अर्थात् भोलि शनिवार झापाकाे दमकमा बृहत जनजागरण सभा गर्दै छ।
प्रतिगमनको विरोध र लोकतान्त्रिक गणतन्त्रको पक्षमा आयोजना गरिने सो सभालाई नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सो सभामा कोशी प्रदेशका हजारौँ मानिसलाई उतार्ने तयारी एमालेले गरेको छ।

कार्यक्रमको सम्पूर्ण तयारी भएको नेकपा एमाले कोशी प्रदेश इञ्चार्ज स्थायी कमिटी सदस्य शेरधन राईले बताउनुभयो। सो कार्यक्रम किन र तयारी के छ ? यस विषयमा राईसँग गरिएको छोटो संवाद:

कार्यक्रमको तयारी कहाँ पुगेको छ ?
भोलि चैत ३० गते नेकपा एमाले कोशी प्रदेश कमिटीको आयोजनामा झापाको दमक नगरपालिकास्थित हाटबजारमा बृहत जनप्रदर्शन र जनजागरण सभा आयोजना हुँदै छ। यो सभालाई सम्माननीय प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ। यो जागरण सभामा हामीले लाखौँ जनतालाई उतार्ने तयारी गरेका छौँ। सम्पूर्ण हिसाबले जनपरिचालन गरेर सहभागीहरूलाई ल्याउने तयारी भएको छ। मञ्च व्यवस्थापनको काम भइरहेको छ। हामीले झण्डै २ हजार स्वयंसेवक परिचालन गरेका छौँ।

भोलिको कार्यक्रमलाई भव्य बनाउनका निम्ति कार्यक्रममा सहभागिताको लागि आमजनसमुदायलाई आह्वान गरेका छौँ। त्यसको प्रचारका लागि आज वृहत् मोटरसाइकल र्‍याली गरेका छौँ।

मूलतः झापा, मोरङ, सुनसरी, उदयपुर र इलामबाट जनताको मुख्य सहभागिता हुने छ। त्यस बाहेक कोशी प्रदेशका अन्य जिल्लाबाट पनि भोलिको कार्यक्रममा नागरिकले सहभागिता जनाउनु हुने छ। भोलिको कार्यक्रमलाई अहिलेसम्मकै ऐतिहासिक कार्यक्रम बनाउने छौँ।

यो सभाका मार्फतबाट प्रतिगामी हरकतको भण्डाफोर सहित आमजनतालाई सचेत बनाउने, जागृत गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बलियो जनमत सिर्जना गर्ने काम गर्ने छौँ। संविधान रक्षाका निमित्त खरो रूपमा आमजनतालाई उत्रिन हामीले आह्वान गरेका छौँ।

चार/पाँचवटा जिल्लाबाट मानिसहरू उतार्ने भन्नुभएको छ, त्यसको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
हामीले यस पटक अलिकति नयाँ ढङ्गले कार्यक्रम गर्दै छौँ। पार्टी कमिटीमा यसको जानकारी गराएका छौँ। हामीले सहभागीलाई आउन र जानको निम्ति छुट्टै कुनै व्यवस्था गरेका छैनौँ। आउने, जाने खर्चको प्रबन्ध स्वयमले गर्ने गरी प्रबन्ध मिलाएका छौँ। कार्यक्रममा आउने पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तक आफैँले आफ्नो खर्च व्यवस्थापन गर्नुहुन्छ। एक पार्टी सदस्य बराबर कम्तीमा एकजनादेखि पाँच जनासम्म सहभागी ल्याउने गरी हामीले भनेका छौँ । सहभागीको खर्च सम्बन्धित व्यक्तिले नै बेहोरेर आउने गरी प्रबन्ध गरेका छौँ। कुनै खर्च सङ्कलन गरेर, तल पैसा पठाएर सहभागी गराउने कुरा हामीले गरेका छैनौँ।

*सत्ताको नेतृत्व गरिरहेको बेला यस्तो सभा किन ? सत्तामा रहेको बेला यस्ता कार्यक्रम गर्नु ठिक होइन भन्ने कोणबाट पनि कुरा उठेका छ नि ।
यो बिलकुल गलत टिप्पणी हो। अहिलेको सवाल सरकारको सवाल होइन। यो सवाल भनेको लोकतन्त्रको सवाल हो, गणतन्त्रको सवाल हो, संविधानको सवाल हो, नागरिक अधिकारको सवाल हो, प्राप्त अधिकार रक्षको सवाल हो।

नेकपा एमाले यो मुलुकको एउटा राजनीतिक दल मात्र होइन, प्रजातन्त्र, लोकतन्त्रको निम्ति निर्णायक पार्टी भएको हुनाले प्राप्त उपलब्धि माथि प्रहार हुन लागेको छ, जुन प्रकारले प्रतिगामी शक्ति सक्रिय भइरहेका छन्, हरकतहरू भई रहका छन्। देशलाई जबरजस्ती हत्या, हिंसा तर्फ उन्मुख गराउन जुन खालको प्रयास भइरहेको छ, यो एमालेको निमित्त निक्कै नै गम्भीर र संवेदनशील विषय बनेको छ। त्यसो हुँदा नागरिकलाई सचेत र जागरूक बनाउने, संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणको निम्ति नागरिकलाई आह्वान गर्ने काम नेकपा एमालेको दायित्व हो। त्यसैले नेकपा एमालेले आफ्नो दायित्व पुरा गर्न देशै भरी जागरण अभियान सुरु गरेको हो। त्यही मध्येको एउटा सभा भोलि झापामा हुन लागेको हो।