अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेको झापामा भएको जनजागरण सभाको खर्च १२ लाख ६५ हजार 

एमालेको झापामा भएको जनजागरण सभाको खर्च १२ लाख ६५ हजार 


काठमाडौं-नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ। गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार खर्च भएको एमालेले जनाएको छ। प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यस पटक कोशीमा नयाँ अभ्यास भएको बताउनुभयो। उहाँले भन्नुभयो, यस पटक कोशीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो। यसको निरन्तरता अव पनि दिइने छ। उहाँले वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा आएको बताउनु भयो।

इन्चार्ज राईले भन्नुभयो एमाले सरकारमा छ र सरकारको पैसामा कार्यक्रम गर्‍यो भन्ने पनि सुने। हामीले सरकारसँग एक रुपैयाँ पनि लिएका छैनौ। हामी हाम्रै शुभचिन्तकले गरेको सहयोगमा यस्ता ठुला ठुला सभाहरू गर्न सक्छौ। उहाँले दमकमा भएको सभाबाट प्रतिगमनकारीको मुख बन्द भएको बताउनुभयो। उहाँले भन्नुभयो, एमालेले आयोजना गरेको विशाल सभाले प्रतिगमनकारीलाई जवाफ मिलेको छ।

स्थायी कमिटी सदस्य समेत रहेका राईले मञ्च र साउन्डका लागि ४ लाख रुपैयाँ, स्वमसेवक परिचालनका लागि ३ लाख रुपैयाँ, झन्डा, ब्यानर र पर्चाका लागि १ लाख रुपैयाँ खर्च भएको राईले बताउनुभयो। यस्तै जनजागरण सभामा झाँकीका लागि ३५ हजार रुपैयाँ, प्रचार प्रसारका लागि १ लाख २० हजार रुपैयाँ र विविध गरेर १ लाख रुपैयाँ खर्च भएको छ। स्वयम सेवकहरुले लगाएको टोपी भने एमाले सुनसरीले उपलब्ध गराएको छ।

नेकपा एमाले कोशीले शनिवार झापाको दमकमा जनजागरण सभा गरेको थियो। सभामा एमाले अध्यक्ष केपी शर्माले सम्बोधन गरेका थिए। सभामा प्रदेशका विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको थियो।