म्याग्दी कुईने मंगलेकी सीता रेग्मी प्रशान्त महासागरसँग जोडिएको अष्ट्रेलियाको सिड्नी शहर छेउमा रहेको डार्लिङ हार्वरमा बसेर नेताहरुलाई सराप्दै थिइन्। देश बिसेक भए त नातिनातिनी किन परदेशमा हुर्किन्थे र भन्दै। न भाषा बोल्छन् न रहनसहन बुझ्छन न मैले बुझ्छु। उता लैनो भैसीको के हाल होला, घरका मान्छे भोकै होलान् कि खाईरा होलान्। छोरो र बुहारीको घर आउने जाने टुंगो छैन। कहिले मध्यराताँ मेला जान्छे कहिले भाले बाँस्ने बेला फर्किन्छे। हैन के हो के यो देश केही मेलोमेसो पाए छैन भन्दै मरुमुरिदै लामो सुस्केरा काढ्छिन्।
आफनो गाँउ डोटीकी कहलिएकी पण्डितनी भविसरा एकाबिहानै चाइनिजकहा खाजा खान लगेर गए, सुँगुर र गाईका लाम्ताहरु देखेर झण्डै उल्टि गरिन, हत्त न पत्त बाटा निस्कीहाले। छेउमै भेटिएकी गैंडाकोटकी सुर कुमारीसँग लसुन र प्याज त आज सम्मन मुखाँ हालेँई छैन कुन थुतुनोले खान सक्नु ती लाम्ताहरु भन् त भन्दै पार्कतिर नातीनातिना चराउन जाँदा संगीसँग फतफताउदै थिइन्।

ओपेरा हाउसको सिढीमा बसेर बटौलीकी मनमाया कान्छो छोरो यता आएर नि नसुध्रेको गुनासो देशतिरका बुढोलाई सुनाउदै थिइन्। ज्वाइँ छोरीलाई बल्लबल्ल रोईकराई गरेर ल्याएको कान्छो छोरोको उछिटो काट्दा–काट्दा मनमाया लामो सुस्केरा हाल्दै छेउछाउका संग डकस माने झै पनि गर्थिन्। छोरोको गुनासो गर्दा-गर्दै बुढोलाई नि धेरै जाँड खाएर नरल्लिन उर्दी पनि जारी गर्न थालिन्। तिमी पनि फेरी तीनपाने धोकेर नालीतिर गएर गुल्टेउला नि, होश गरे है मैले केही अनिको सुन्न नपरोस्। मेरो त के र ज्वाईँ छोरीको इज्जत फालौला फ्वाँकैमा।
सिड्नी हार्वर ब्रीजको डिलबाट प्रशान्त महासागरको छाललाई एकोहोरो टोलाएर हेर्दै गरेकी काठमाडौंकी सुनयना छालमै हराएकी छोरीको मधुरो आकृति सम्झदै रुदै थिइन्। खाउखाउ लाउलाउ बेला कि छोरीलाई आफुमै समाहित गरेकी महासागरले उनको आँशुको व्यथा के सुन्थ्यो र त्यही नि मन बुझाउँदै थिइन्, पिर बिसाउदै थिइन्। छेउमा बसिरहेका छोरीका साथीहरुका आँखाहरु पनि उनको रोदन सँगै टिलपिलाई रहेका थिए। प्रशान्त महासागर सदाझै आफ्नै लयमा बगिरहेको थियो, सुनयनाको व्यथाको लहर भने बगाउन सकिरहेको थिएन।
डुब्दै गरेको सूर्यको लालिमालाई हेर्दै पूर्व ३ नम्बरकी हरिकला छोरोले वर्षौ बित्दा पनि अष्ट्रेलियन पेपर पाउन नसकेर पिरमा थिइन्। छिमेकी नरदेविको छोरोले पाइसक्दा उनी भित्रभित्रै पाकिरहेकी कुरो उनको खुम्चेको निधारले बताइरहेको थियो। गाँउतिरका सबै सिमेभूमे, देवीदेउतालाई सम्झदै कालो बोको चढाउने भाकल गर्दै गरेको उनको मसिनो आवाज सुनिन्थ्यो। छोराछोरीको मया न हो के देश के विदेश कलेजो खाने नै भयो बिचरी आमाको।
पूर्व रुकुमकी भवीसरा र मटिहानीकी फुल्वा कुमारीको देखभेट डार्लिङ हार्वरको फेरिई चढ्दा भयो। चिसो सिरेटोले टाउको दुखाउदै गर्दा पहिलो चोटी महासागर देखेका र फेरिई चढेका यिनीहरुले निको महशुस गरेनन्। छोरा र छोरीको दिक्षान्त कार्यक्रममा आएका दुवै जना त्यसैत्यसै मख्ख थिए। एकअर्काले दुःख सुखका कुराहरु साटे, छरछिमेकका कुराहरु पनि काटे, देशको पिर पनि माने। आफुले दुःखजिलो गरे पनि छोराछोरीलाई यतै स्थापित गराउने कुरोमा मन मिल्यो। देश फर्केपछि मोबाइलमा सम्पर्क गर्ने वाचा गर्दै डार्लिङ हार्वरबाट दुवै जना छुटिए।
अचेल सिड्नी र वरपरका सडकहरु, पार्कहरु, रेस्टुरेन्टहरु, समुन्द्रका छेउछाउहरु, रेलवे सेवाहरु, कलेजहरु र बिमानस्थलहरुमा बग्रेल्ती नेपाली युवायुवती र तिनका बाआमाको जमघट देख्न पाइन्छ। अष्ट्रेलियाका अन्य शहर र विभिन्न देशहरुमा पनि नेपालीहरुको अवस्था यस्तै छन् भन्ने सुनिन्छ।
विकसित देशतिर पुगेका छोराछोरीहरुको व्यस्त समयमा सघाउनका लागि पुग्ने गरेका बाआमाहरुले भोग्नु परेको समस्याका बारेमा खासै सकस मान्दैनन्। शायद, आमाहरुले सवै पिर प्रशान्ततिरै बगाउदै छन्, डार्लिङ हार्वर तिरै बिसाउदै छन्।
प्रतिक्रिया