भैरहवा-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कार्य सम्पादन, विकास निर्माण र श्रोत परिचालनलाई पारदर्शी र मितव्ययी बनाउन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ।
मन्त्रालयद्वारा बिहिबार भैरहवामा आयोजित बेरुजू फस्र्यौट सम्वन्धिको कार्यशालालाई संवोधनका क्रममा मन्त्री दाहालले कार्यसम्पादनका क्रममा सकेसम्म बेरुजूनै आउन नदिन र आएको भए फस्र्यौट तर्फ समेत ध्यान दिन निर्देशन दिनुभयो।
नागरिकले हरेक सेवामा सुशासन र पारदर्शीताको अपेक्षा गर्ने र सरकारले समेत आर्थिक अनुशासनलाई प्राथमिकता दिएकाले आफ्ना हरेक कामको उत्तरदायीत्व निर्वाह गर्न समेत आग्रह गर्नुभयो।
कतिपय आयोजनाहरु समयमा पूरा नहुने, अलपत्र हुने तथा रुग्ण भएर बस्ने जस्ता समस्या देखिएको भन्दै त्यसतर्फ पनि हरेक कार्यालय र कर्मचारीले ध्यान दिनु पर्ने बताउनुभयो।

नेपाल अहिले निर्माणको चरणमा रहेको भन्दै मन्त्री दाहालले शुरु गरिएका आयोजनाहरु तोकिएकै समयमा पूरा हुने गरि कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीहरुलाई सुझाव दिनुभयो। कर्मचारीहरुको कार्यसम्पादनबाटनै नागरिकले सरकारको महसुस गर्ने भएकाले सरकारको आभाष दिलाउने गरी काम गर्न उहाँको आग्रह छ।
नेपालमा केही भएन, हुँदैन र हुन सकेन भन्ने जस्ता गलत भाष्यहरु निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तनहरु नागरिक सम्म पुर्याउन जरुरी रहेको बताउनुभयो।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजना अलपत्र पार्ने, समयमा पूरा नगर्ने जस्ता कार्य अब हुन नदिने बताउनुभयो। सडक आयोजनाहरु निर्माण गर्दा सर्वसाधारणलाई सके सम्म कम समस्या पर्ने र यातायात अवरुद्ध हुन नदिने गरि गर्न समेत कर्मचारी तथा प्राविधिकहरुलाई निर्देशन दिनुभयो।
कार्यक्रममा सडक विभागका महानिर्देशक रामहरी पोखरेल तथ सडक विभागका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बेरुजू व्यवस्थापन, सडक तथा पुल निर्माण एवम् मर्मतको अवस्था र आवश्यकता लगायतका बारेमा कर्मचारीलाई प्रशिक्षणमूलक जानकारी दिनु भएको थियो।
प्रतिक्रिया