अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यार्थीको भविष्यमाथि खेलबाड असह्य छ: अनेरास्ववियु

विद्यार्थीको भविष्यमाथि खेलबाड असह्य छ: अनेरास्ववियु


काठमाडौं-नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न आग्रह गरेको छ।विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने खालको आन्दोलन अनुचित भएको अनेरास्ववियुले जनाएको छ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै १९ दिनयता देशभरका सामुदायिक विद्यालयका शिक्षक काठमाडौंमा सडक आन्दोलनमा छन्।

 विद्यालय बन्द, विद्यार्थी भर्ना प्रक्रिया ठप्प छ। विद्यार्थीको भविष्य अन्योलमा रहेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अनेरास्ववियुले शिक्षक महासंघ र सरकार दुवैलाई संगठनको ३ बुँदे माग प्रष्ट्याएको छ।

‘यो केवल आन्दोलन होइन, सम्पूर्ण शिक्षा क्षेत्रमाथिको संकट हो । हामी शिक्षक आन्दोलनका न्यायपूर्ण मागप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, शिक्षाजस्तो संवेदनशील पेसामा आबद्ध गुरुहरूले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने खालको आन्दोलन गर्नु गम्भीर पेसागत प्रश्न पनि हो।’

विद्यालय शिक्षा ऐन संसद्मा टेबल गरेर पारित हुने निश्चितता प्रदान गर्न अनेरास्ववियुले सरकारसित माग गरेको छ। विद्यार्थीको भविष्यमा आँच पुर्‍याउने काम बन्द गर्न पनि नेपाल शिक्षक महासंघलाई अनेरास्ववियुले आग्रह गरेको छ।

‘शिक्षक महासंघले पनि आन्दोलनलाई अनिश्चितकालीन बनाउँदै विद्यार्थीकै भविष्यमा आँच पुर्‍याउने काम बन्द गरोस्,’ विज्ञप्तिमा उल्लेख छ, ‘जिम्मेवार पेसागत संगठन भएर समाधानमुखी बार्ताको बाटो समातियोस् ।’

शिक्षक आन्दोलनलाई आड बनाएर केही निजी शिक्षण संस्थानिकट स्वार्थ समूहले सरकारी विद्यालय कमजोर पार्न र विद्यार्थीलाई निजीतर्फ लैजान षड्यन्त्र गरिरहेको अनेरास्ववियुको आरोप छ।

‘शिक्षकहरूलाई हाम्रो गम्भीर आग्रह– तपाईंहरू केवल तलब खाने कर्मचारी होइन, समाजको नेतृत्वकर्ता हुनुहुन्छ,’ अनेरास्ववियुले भनेको छ, ‘विद्यार्थीको भविष्य अन्धकारमा राखेर पाइएको कुनै पनि सफलता अस्थायी हुन्छ।’

विद्यार्थीलाई घेराबन्दीमा नपारी विद्यालय फर्केर आफ्ना मागका निम्ति लड्न शिक्षकलाई अनेरास्ववियुले आग्रह गरेको छ।