काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसंगतियुक्त प्रवृत्तिहरुविरुद्ध प्राध्यापकहरुले बौद्धिक रुपमा सक्रियता देखाउन आग्रह गर्नुभएको छ।
नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले
मुलुकमा प्रकट भइरहेका प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसंगतियुक्त प्रवृत्तिहरुप्रति सजग हुँदै आफ्नो बौद्धिक क्षेत्रबाट विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ विचार निर्माणमा लागि पर्न आव्हान गर्नुभएको हो।
‘प्राध्यापक जस्तो सचेत वर्गले लोकतन्त्र र तानाशाहीका बीचको भेद छुट्याउन नसक्ने भन्ने कुरै हुँदैन। कोही पनि सचेत नागरिक आफ्नो समाज कस्तो बनाउने भन्ने सन्दर्भमा तटस्थ रहिरहन सक्दैन । लोकतन्त्रको प्रयोगबाट मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्नुपर्ने छ।’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले मिसन २०८४ भनेको छौँ। त्यो मिसन भनको अराजकतावादी, प्रतिगामी, असभ्यता र देशलाई अँध्यारो यात्रातर्फ फर्काउने प्रयासविरुद्धको मिसन हो। यसमा तपाईँहरुले लेखेर-बोलेर बौद्धिकताको प्रर्दशन गरी साथ दिनुपर्छ। विद्वत समुदायका रुपमा समाजमा आफ्नो पहिचान दिनुपर्छ। देशको विकास तब हुन्छ, जब नागरिकहरु स्वस्थ्य, शिक्षित र दक्ष हुन्छन्। नागरिकहरु स्वस्थ्य, शिक्षित र दक्ष बनाउने हाम्रो प्राथमिकता हुनुपर्छ।’
प्रधानमन्त्री ओलीले शिक्षालाई हरेकको पहुँचभित्र कसरी पुर्याउने र गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भनेर हामीले सोच्न आग्रह गर्दै कसरी ज्ञानलाई आर्जन, संकलन र सम्प्रेषण गर्छाैँ भन्ने अति महत्वको विषयमा मनन् गर्न सम्झाउनुभयो ।
उहाँले यस सङ्गठनको जन्म नै अधिकार प्राप्तिको आन्दोलनका क्रममा भएकाले आगामी दिनसमा उच्चशिक्षा क्षेत्रमा गरिनुपर्ने सुधारका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया