अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपाको ७६औँ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै एमाले, प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने

नेकपाको ७६औँ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै एमाले, प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने


काठमाडौँ-नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ७६औँ स्थापना दिवस आज विविध कार्यक्रम गरेर मनाइँदै छ। काठमाडौंकाे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना राखिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

कार्यक्रमलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने गौतमले बताउनुभयो।

कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण  योगदान गर्ने लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) लाई सम्मान गर्ने एमालेको तयारी छ।

त्यसबाहेक पार्टीले प्रकाशित गरेको ‘शेल्टर’ नामको पुस्तक विमोचन गर्ने कार्यक्रम समेत रहेको छ। यसअघि पार्टी स्थापनाको ७५औँ स्थापना दिवसका अवसरमा एमालेले पूर्वराष्ट्रपति पति विद्यादेवी भण्डारीलगायतलाई सम्मान गरेको थियो।

७६ वर्षअघि २००६ साल वैशाख ९ गते (तद्नुरुप २२ अप्रिल १९४९)मा आजकै दिन भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो।

पार्टीका तत्कालीन संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र संस्थापक नेतामा नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहनुभएको थियो। कम्युनिष्ट घोषणापत्र जारी भएको १०२ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ वर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो।

नेपालमा जहानियाँ राणा शासन रहेको बेला भूमिगत रूपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले शोषण, उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो।