काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले हरेक वर्तमान इतिहासको जगमा उभिने बताउनुभएको छ।
आज नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले नेकपा एमाले गौरवशाली इतिहासको जगमा उभिएको पार्टी भएको बताउनु भएको हो।
नेकपा एमाले एउटा जीवन्त इतिहास बोकेको पार्टी भएको उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो। ‘हरेक वर्तमान इतिहासको जगमा उभिएको हुन्छ, हरेक भविष्यलाई कहीँ न कहीँ इतिहासले दिशानिर्देश गरिरहेको हुन्छ, इतिहास बिर्सियो भने न वर्तमानमा टेक्न सकिन्छ न भविष्यलाई नै सुरक्षित बनाउन सकिन्छ’, उपमहासचिव ज्ञवालीले भन्नुभयो।
कहिलेकाहीँ मन अलमल र द्विविधा भएको बेला नेपालको कम्युनिष्ट पार्टीको इतिहास र अग्रले गरेको दुःख सम्झँदा अघि बढ्ने बाटो खुल्ने उहाँले बताउनुभयो। हिजो भूमिगत कालमा सेल्टरदाताहरूले आफ्नो ज्यानको समेत परवाह नगरी नेता र पार्टीलाई जोगाएका उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो। दिनभरि ज्याला बनी गरेर कमाएर ल्याएकाले आफू भोकै बसेर कम्युनिष्ट पार्टीका नेताहरू पालेका उहाँले स्मरण गराउनुभयो।
नाम ढाँटेर हिँड्नु पर्ने, कयौँ दिन वडामा बस्नु पर्ने, दिनभरि दिसा(पिसाब समेत नगरी बस्नु पर्ने नेताहरूको विगतको इतिहास भएको उहाँले बताउनुभयो । कतिपय रात बच्नकै लागि मसानघाटमा बिताउनु परेको नेताहरूको विगतको इतिहास भएको ज्ञवालीले स्पष्ट पार्नुभयो ।
स्वतन्त्र समाजमा जन्मिएकाले विततमा अग्रजहरूले कति दुःख हण्डर खाए भन्ने कुरा बुझ्नु पर्ने उहाँले बताउनुभयो । त्यो बुझियो भने यो व्यवस्था प्रतिको आस्था र विश्वास बढ्ने उहाँको धारणा छ ।






प्रतिक्रिया