अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गतिशील समाज निर्माणको लागि तीन पुस्ताको संयोजक आवश्यक: शंकर पोखरेल 

गतिशील समाज निर्माणको लागि तीन पुस्ताको संयोजक आवश्यक: शंकर पोखरेल 


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले गतिशील समाज निर्माणको लागि तीन पुस्ताको संयोजन हुन आवश्यक रहेको बताउनुभएको छ।

अखिल नेपाल महिला संघ केन्द्रीय युवा कमिटीद्वारा आयोजित दोस्रो राष्ट्रिय युवा महिला भेलालाई बुधबार च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले समाज निर्माणका लागि पाका, मझौला र युवा पुस्ताको संयोजन आवश्यक रहेको बताउनुभयो। ‘हामी तीन पुस्ताको संयोजनको आधारमा गतिशील समाज निर्माण हुन्छ भन्ने मान्यता राख्दै आएका छौँ’, महासचिव पोखरेलले भन्नुभयो।

भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आउँदा एमालेमा युवा नै युवा भएका उहाँले बताउनुभयो। त्यस बेला पाका मानिसहरूलाई पार्टीमा जोड्न नेकपा मार्क्सवादीसँग पार्टी एकता गरेको महासचिव पोखरेलले स्मरण गराउनुभयो।

अहिले त्यसको ठिक विपरीत आज पार्टीमा पाका पुस्ताको बाहुल्यता रहेको र युवा पुस्तालाई जोड्नु पर्ने अवस्था रहेको महासचिव पोखरेलले बताउनुभयो। ‘प्रतिस्पर्धाको राजनीतिमा यो राम्रो लक्षण होइन, प्रतिस्पर्धामा आफूलाई अब्बल बनाउन युवालाई जोड्नु पर्छ, पार्टीको राजनीतिमा युवालाई जोड्न सबै लाग्नु पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले सबै पालिका र वडास्तरसम्म अनेमसंघसँगै युवा महिलालाई जोड्नु पर्ने उहाँले बताउनुभयो । देश भरका युवालाई पार्टीमा जोड्न आवश्यक रहेको उहाँले बताउनुभयो। पार्टीमा महिला सदस्यको सहभागिता पनि बढाउनु पर्ने उहाँको धारणा छ ।
युवा सहभागिता विकासकै लागि नेकपा एमालेले देशै भरका युवालाई सहभागी गराएर लोकतन्त्र प्राप्तिका दिन भोली युवा सेलिब्रेसन गर्न लागिएको बताउनुभयो । भोलिको कार्यक्रम युवा सहभागिताको हेर्न लायकको कार्यक्रम हुने उहाँले दाबी गर्नुभयो । भोलिको कार्यक्रमबाट अब देश युवाले बनाउँछन् र बनाउन सक्छन् भन्ने सन्देश दिनु पर्ने उहाँको धारणा छ।

नेकपा एमालेले नेपालमा महिला सहभागिता वृद्धिका लागि निर्णायक भूमिका खेलेको उहाँले बताउनुभयो। एमालेकै कारण राज्यका निकायमा ३३ प्रतिशत बढी महिला सहभागिता स्थापित भएको उहाँले स्पष्ट पार्नुभयो। एमाले महिला सहभागिता मात्र होइन नेतृत्वदायी स्थानमा महिलालाई स्थापित गराउने पनि पहिलो पार्टी भएको उहाँको धारणा छ । अहिले हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि भएको उहाँको धारणा छ।

पछिल्लो समय राजावादीको नाममा सामन्तवादी मण्डलेहरू लोकतन्त्रले के दियो भन्दै टाउको उठाउन लागेका उहाँले बताउनुभयो । उहाँले उनीहरूलाई आफ्नो विगत हेर्न सुझाव दिनुभयो।