अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेको ‘यूथ सेलिब्रेशन’ को तयारी पूरा

एमालेको ‘यूथ सेलिब्रेशन’ को तयारी पूरा


काठमाडौं-नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा भोलि काठमाडौंमा आयोजना गर्ने ‘यूथ सेलिब्रेशन’ विशेष कार्यक्रमको तयारी पूरा भएको जनाएको छ। 

लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा एमालेले काठमाडौंको भृकुटीमण्डपमा भोली दिउँसो १ बजेबाट यूथ सेलिब्रेसन गर्दैछ। भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको ४० वर्ष मुनिका युवा परिचालनको जिम्मा पाउनुभएका युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो। 

बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कार्यक्रममा सहभागी हुन देश भरका युवाहरू आउने क्रम सुरु भइसकेको बताउनुभयो। ‘जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ, यो दिनलाई युवाले लोकतन्त्रको उत्सवको रूपमा मनाउने छन्’, उहाँले भन्नुभयो। 

कार्यक्रममा एमालेका ४० वर्ष मुनिका युवाहरूको ऐतिहासिक सहभागिता हुने उहाँले जानकारी दिनुभयो। भोलिको कार्यक्रममा देशभरबाट १ लाख युवाले सहभागिता जनाउने उहाँले जानकारी दिनुभयो। 

भोलिको दिन युवाले देश बनाउने सङ्कल्प गर्ने दिन भएको पनि उहाँले बताउनुभयो। यो देश युवाले नै बनाउने र बनाउनु पर्ने उहाँले धारणा राख्नुभयो। 

कार्यक्रमको सबै तयारी पुरा भएको बताउँदै उहाँले भोलिको कार्यक्रम नियमित कार्यक्रम भन्दा फरक खालको कार्यक्रम हुने जानकारी दिनुभयो। ‘भोलिको कार्यक्रममा हामीले नयाँ पन दिने छौँ, कार्यक्रम पूर्णरुपमा युवामैत्री हुने छ’, अध्यक्ष थेबेले भन्नुभयो। 

भोलिको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त मन्तव्य राख्नु हुने छ। बाँकी सबै वक्ताहरू युवा हुने छन्। विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्नुहुने छ। 

कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन्। कार्यक्रम स्थलमा कफीसप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत राखिने भएको छ। 

भोलिको कार्यक्रम नितान्त फरक कार्यक्रम हुने आयोजकले जनाको छ। कार्यक्रमको मञ्च आज बेलुकासम्म तयार हुने बताइएको छ । भोलिको कार्यक्रमको मञ्च समेत विशेष हुने आयोजकको भनाइ छ। 

पत्रकार सम्मेलनमा काठमाडौं उपमहानगरपालिका प्रमुख सुनिता डङ्गोल तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, अनेरास्ववियुका अध्यक्ष समिक बडाल पनि सहभागी हुनुहुन्थ्यो।