अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संसद्को बर्खे अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने

संसद्को बर्खे अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने


काठमाडौँ-सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ। राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठन र कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा सभामुखले पढेर सुनाउनु हुने छ।

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ। बैठकमा अधिवेशन सुरु भएको अवसरमा दलीय आधारमा सदस्यहरूले आआफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको  प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्नुहुनेछ। समसामयिक विषयमा प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्न लाग्नभएको हो।

आजकै बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो। राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ। राष्ट्रपतिबाट नीति तथा कार्यक्रममार्फत संसद्लाई सम्बोधन हुने छ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नेछन् । संघीय संसद्को यस अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ । यही वैशाख १९ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र ‘प्रि बजेट’ छलफल वैशाख २८ देखि हुने सम्भावना रहेको संसद् सचिवालयका एक अधिकारीले राससलाई बताए । बजेट प्रस्तुत हुने १५ दिनअगावै प्रि बजेट छलफल गर्नुपर्ने कानुनी प्रावधान छ ।

त्यसपूर्व सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा प्रि बजेट छलफल हुने छ । यो अधिवेशनमा सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने प्रयत्न हुने छ ।