काठमाडौं-नेपाल शिक्षक महासंघले शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई आग्रह गरेको छ।
२६ दिनदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरूलाई स्थानीय तहले विभिन्न सूचना निकालेर काममा फर्किन निर्देशन दिन थालेपछि शिक्षक महासंघले यस्तो आग्रह गरेको हो ।
महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संविधान प्रदत्त सामूहिक सौदावाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न/नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दे यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक-कर्मचारी साथीहरूमा अनुरोध गर्दछौँ।’
२०८१ माघ २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन गरिरहेको छ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यले गरिएको यो आन्दोलन अन्तिम र निर्णायक आन्दोलन भएको दाबी शिक्षक महासंघले गरेको छ। यसैले यो आन्दोलनलाई अझ सशक्त बनाउन उसले देशभरका सबै शिक्षक-कर्मचारीलाई काठमाडौँ आउन आह्वान पनि गरेको छ।

प्रतिक्रिया