समाजमा सकारात्मक विषयको खडेरी परेको होइन बरु सकारात्मक बहसको चाहिँ डेरी परेको हो। मानिसमा नकारात्मक भावनाको रुचि जगाउने विभिन्न गैह्र जैविक तत्वहरु सक्रिय छन्। आम रुपमा प्रयोग हुने गरेको जलवायु परिवर्तनको कारण पनि मानिसका हर्मोनमा सकारात्मक ग्रन्थी कमजोर हुँदै गएको पो हो कि ? यो जैविक शास्त्रीहरुको खोजीको विषय हो।
अचेल मानिसको झुकाव कतातिर छ भनेर जाँच गर्ने सजिलो विधि छ। त्यसका लागि आफ्नै पहुँचमा भएको सामाजिक सञ्जालमा कसैको प्रशंसा, उपलब्धि, विकास, उन्नतीका कुरा राख्नुहोस्। मानिसहरुको प्रतिक्रिया न्यून आउँछ। सकारात्मक आशयको सामाजिक सञ्जालको कथनमा पनि कतिपय प्रतिक्रियाहरु चाहिँ नकारात्मक दिशातिर नै निर्देशित हुन्छन्। उस्तै समयमा अर्को सामग्री सामाजिक सञ्जालमा राख्नुहोस् जहाँ कसैलाई गाली, आरोप, होच्याउने भाषा प्रयोग गरिएको हो। त्यसमा असंख्य मानिसहरु धुइरो लाग्दछ। त्यसले देखाउछ मानिसहरुको रुचि सकारात्मकता भन्दा नकारात्मकतातिर बढी छ। सकारात्मकता भित्र पनि नकारात्मक भावना खोज्न केही मानिसलाई भ्याइनभ्याइ छ।
निश्चित व्यक्तिबाट सञ्चालित सामाजिक सञ्जालले बाँड्ने नकारात्मकताको खेतीबाट बाहिर निस्किएर एकपटक हेरौं नेपाल कहाँ थियो र अहिले कहाँ छ ? पञ्चायतका ३० वर्षमा नेपालले गरेको उन्नती ज्यादै न्यून थियो। त्यसबेला ‘मौसुफको इच्छा’ बमोजिम विकास र बजेटको बाँडफाँड हुँदा जनताको आवश्यकता प्राथमिकतामा पर्दैन थियो। बहुदल पछि राजा संवैधानिक बने। प्रधानमन्त्री कार्यकारी बने। जनताले चुनेको संसद्ले जनताका आवश्यकतालाई सम्बोधन गर्ने तिर देश उन्मुख भयो। जसले गर्दा विकासमा पारदर्शिता र तीव्रता आउन थाल्यो। सामाजिक सञ्जालमा गरिएका केही मिथ्या खेतीसँग वास्तविक तथ्याङ्कको लेखाजोखा गर्दा थाहा हुन्छ देश पञ्चायतमा भन्दा प्रजातन्त्रकालमा, प्रजातन्त्रकालमा भन्दा गणतन्त्रकालमा विकास र आर्थिक सामाजिक सूचकहरु तिव्र गतिमा अघि बढेका छन्। यसै सरोफेरोमा बहुदलका ३३ वर्ष र गणतन्त्रका १७ वर्षमा नेपालमा विकास र सामाजिक अवस्थामा भएको सकारात्मक परिवर्तनलाई यसरी हेरौं।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालले सार्वजनिक गरेको ‘वि.सं. २०४७ सालपछिको आर्थिक सामाजिक रुपान्तरणको अवस्था’ पुस्तिकाका अनुसार बहुदलीय व्यवस्थाको स्थापना भएसँगै देश बन्द अर्थतन्त्रबाट खुला अर्थतन्त्रमा प्रवेश गरेको हो। त्यसपछि नेपालको आर्थिक वृद्धिदर औषतमा ४ प्रतिशत भन्दा माथि रह्यो र प्रतिव्यक्ति आयमा पनि वृद्धि हुँदै गएको हो। समाजमा एउटा भाष्य स्थापित गर्ने अनवरत प्रयास जारी छ। विकास भएन। नागरिक झन् झन् गरिब भए। रोजगारी साँघुरियो। सामाजिक सुरक्षाको प्रवन्ध झन् कमजोर भयो। लोककल्याणकारी काममा सरकारहरु असफल भए। तर के यी आरोप सत्य हुन् त ? होइनन् तथ्याङ्कले यी सबै सूचकहरुमा सकारात्मक परिवर्तन भएका देखाएका छन्।
घटे गरिब, पुरिँदै गरिबीको खाडल
पछिल्ला तीन दशकमा नेपालको गरिबी प्रतिवर्ष १.५ प्रतिशत विन्दुले घटेको छ। २०५२ सालमा निरपेक्ष गरिबी औषतमा ४२ प्रतिशत थियो। २०६१ मा ३१ प्रतिशत र हाल यो दर २० प्रतिशतमा झरेको छ। यस अवधीमा समग्र गरिबीको दरमात्र घटेको होइन,सहर र गाउँको गरिबीको खाडल पनि तीन दोब्बरले घटेको छ। २०५२ सालमा शहरी र ग्रामिण गरिबीको फरक २१ प्रतिशत थियो भने हाल उक्त दर ७ प्रतिशतमा झरेको छ। यस कुरालाई अर्को तथ्याङ्कले पनि पुष्टि गरेको छ। त्यो हो २०५२ सालमा समाजको सबैभन्दा तल्लो १० प्रतिशत गरिब र माथिल्लो १० प्रतिशत धनी वर्गको अन्तर ९ गुणा थियो। २०६१ र २०६८ मा यो विभेद बढेर गयो। तर हाल धनी र गरिबबीचको असमानता घटेर ६ प्रतिशतमा झरेको छ। यसलाई उन्नती मान्ने कि अवनति ? उपलब्धी मान्ने कि क्षति ?
३० वर्षमा १२ गुणाले बढ्यो सडक, नौ वटा जहाज कम्पनी थपिए
प्रधानमन्त्री कार्यालयका अनुसार २०४७ सालमा नेपालको सडकको कुल लम्बाइ ९ हजार किलोमिटर मात्र थियो। अहिले १ लाख ९ हजार मिलोमिटर सडक छ। तीन दशकमा सडकको लम्बाइ १२ गुणाले बढेको छ। प्रजातन्त्रको स्थापना पछि सडक विस्तारलाई सरकारहरुले प्रमुख प्राथमिकतामा राखे। २०५१ सालमा एमालेको सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने कार्यक्रम अन्तरगत नागरिकले स्वतस्फूर्त रुपमा गाउँ-गाउँमा सडक बनाए। ती कच्ची सकडहरुलाई राज्यले ग्राभेल र पक्की बनाइदियो। गणतन्त्रको स्थापनापछि वैकल्पिक राजमार्गका रुपमा पहाडै पहाड नेपाल छिचोलिने गरी पुष्पलाल मध्यपहाडी राजमार्गको निर्माण भयो। चुरेको फेदैफेद मदन भण्डारी राजमार्ग बनाइयो। हुलाकी सडक निर्माणलाई तिव्रता दिइयो। उत्तरी नाकाबाट तराइ जोड्ने उत्तर दक्षिण राजमार्गहरु निर्माण भए। जसले आम मानिसको जनजीवनलाई सहज मात्र बनाएको छैन रोजगारी वृद्धि र अर्थतन्त्रलाई चलायमान पनि बनाएको छ। २०५२ सालमा २५ प्रतिशत ८० प्रतिशत पुगेको छ।
सडकको पहुँच बढेसँगै मानिसहरुको दैनिकी सहज बनेको छ। यातायातका साधन थपिएका छन्। पञ्चायतकालको अन्त्यमा करिब डेढ लाख वटा सवारी साधन भएकोमा अहिले त्यो संख्या थपिएर ४० लाख पुगेको यातायात व्यवस्था कार्यालयले जनाएको छ।
विद्युत र आवासमा पनि लामो फड्को
सडक यातायात मात्र होइन हवाइ यातायात पनि तीन दशकमा उसैगरी विस्तार भएको छ। २०४८ सालसम्म तत्कालीन शाही नेपाल बायु सेवा निगम हालको नेपाल वायु सेवा निगम एक मात्र सरकारी हवाइ यातायात कम्पनी रहेकोमा हाल निजी क्षेत्रका ९ वटा विमान कम्पनी नेपालमा थपिएका छन्। १२ वटाजति हेलिकप्टर कम्पनी थपिएका छन्। ६ वटा विमानस्थलमा रात्रीकलिन उडान अवतरण भइरहेको छ।
सञ्चार र सुचना प्रविधिको क्षेत्रमा पनि नेपालीहरुले लोकतन्त्रकालमा अभूतपूर्व फड्को मारेका छन्। २०४७ सालमा प्रति ३ हजार मानिस बराबर एउटा टेलिफोन सेवा उपलब्ध थियो भने हाल एकजना नेपालीसँग एक भन्दा बढी मोवाइल फोन उपलब्ध छ। राष्ट्रिय जनगणना २०७८ अनुसार करिब ९३ प्रतिशत मानिससँग मोवाइल फोन उपलब्ध छ। ७५ प्रतिशत मानिसहरु इन्टरनेटको पहुँचमा छन् भने देशको करिब आधा जनसंख्याले फ्रिजको प्रयोग गर्दछन्। राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा विं.सं. १९६८ सालमा नेपालमा विद्युत उत्पादन सुरु भए पनि पञ्चायतकाल भरी यसले उल्लेख्य गति लिन सकेन। पञ्चायतको आखिरी समयसम्ममा नेपालमा जम्मा २२७ मेघावाट विद्युत उत्पादन हुन्थ्यो। तर त्यसयताका तीन दशकमा ३४०० मेघावाट उत्पादन भइरहेको छ। त्यती बेला केवल १४ प्रतिशत घरपरिवारले विद्युत उपभोग गर्न पाएकोमा अहिले त्यो संख्या करिब शतप्रतिशत अर्थात ९७ प्रतिशत घरपरिवारले विद्युतको उज्यालो उपभोग गर्न पाएका छन्।
यस अवधीमा नेपालीहरुले गुणस्तरीय आवासको सुविधा पनि बढेको छ। २०५२ सालमा ११ प्रतिशत मानिसहरु पक्की गारो भएको घरमा बस्ने गरेकोमा हाल करिब ६० प्रतिशत मानिसहरु सिमेन्टको गारो भएको घरमा बस्ने गरेका छन्। २०५२ सालमा ९० प्रतिशत परिवार फुसको छानो भएको घरमा बस्ने गरेकोमा हाल २० प्रतिशत परिवार मात्र फुसको छानो भएको घरमा बस्ने गरेका छन्। पक्की घरमा बस्ने परिवारको संख्या हाल ४० प्रतिशत पुगेको छ। जनताको आधारभुत सुविधाका लागि पछिल्ला सरकारहरु प्रयत्नशिल भइरहेका छन्। हाल ९५ प्रतिशत मानिसहरुले आधारभुत पिउने पानीको सुविधा पाएका छन्। शौचालय सुविधा भएका घरहरु तीन दशको अवधीमा २२ प्रतिशतबाट बढेर ९५ प्रतिशत पुगेका छन्।
शैक्षिक सामाजिक अवस्था झनै मजबुत
भौतिक पूर्वाधार मात्र होइन नेपालीहरुको सामाजिक शैक्षिक अवस्था पनि राजतन्त्रकाल भन्दा पछि उल्लेख्य रुपमा सुधार भएको छ। २०४८ सालमा विद्यँलय शिक्षामा ४६ लाख विद्यार्थी भएकोमा अहिले ८५ लाख छन्। खुद भनाए दर अहिले ९८ प्रतिशत पुगेको छ। विद्यालय बाहिर करिब २ प्रतिशत बालबालिका छन्। तिनलाई पनि विद्यालय प्रवेश गराउन सरकारले प्रयत्न जारी राखेको छ। त्यसबेला नेपालीको साक्षरता दर ५४ प्रतिशत रहेकोमा हाल ७७ प्रतिशत पुगेको छ। महिला साक्षरता २५ प्रतिशत मात्र रहेकोमा हाल ६६ प्रतिशत पुगेको छ। व्यवस्था परिवर्तनसँगै सुरु भएको महिला स्वतन्त्रता,अधिकार प्राप्ती,शसक्तिकरण जस्ता विषयले नेपाली महिलाहरुको साक्षरतासँगै सामाजिक अवस्था पनि परिवर्तन भएको हो। २०४७ सालमा नेपालीको औषत आयु ५५ वर्ष रहेकोमा हाल ७२ वर्ष पुगेको छ। यस अवधीमा विस्तार भएको स्वास्थ्य सुविधा,खाद्यान्नको उपलब्धता आदि कारणले शिशु तथा बाल मृत्युदरमा व्यापक कमी आएको छ। जसले गर्दा २०४७ सालमा प्रतिहजार १३९ जना बालबालिकाको ५ वर्षको उमेर नपुग्दै मृत्यु हुने गरेकोमा हाल त्यो संख्या घटेर २७ मा झरेको छ। त्यसबेला प्रसुतिजन्य कारणबाट प्रति १ लाख महिलामा ८५० जनाको मृत्य हुने गरेकोमा हाल १५१ मा झरेको छ।
संसद्मा महिला ३ बाट ३३ प्रतिशत
राजनीतिक रुपमा पनि महिलाहरुको उपस्थिती बलियो हुँदै गएको छ। २०५१ सालको संसदमा ३ प्रतिशत महिला साँसद भएकोमा हाल ३३ प्रतिशत पुगेका छन्। स्थानीय तहमा त ४१ प्रतिशत महिलाहरु निर्वाचित भएका छन्। त्यसमध्ये २७ जना त प्रमुख पदमा कार्यरत छन्। पञ्चायतकालमा शुन्य अवस्थामा रहेको सामाजिक सुरक्षा कार्यक्रम प्रजातन्त्र कालमा सुरु गरियो भने गणतन्त्र कालमा यसको ब्यापक विस्तार भयो। ज्येष्ठ नागरिक भत्ता लगायतका १३ वटा सामाजिक सुरक्षा कार्यक्रम सरकारले नागरिकलाई उपलब्ध गराइरहेको छ। मानव विकास सूचकांकमा पनि नेपालको उल्लेख्य सुधार भएको छ।
शिक्षा,स्वास्थ्य,आर्थिक अवस्था आदिमा भएको प्रगतिका कारण २०४८ सालमा ०.४० रहेको यो मान २०७८ मा बढेर ०.६० मा पुगेको छ। मानव विकास सुचकांक ०.५५ भन्दा माथी गएमा मध्यम स्तरीय मानव विकास भएको देशमा गणना हुन्छ।
प्रजातन्त्रकालमा उकासिन थालेको नेपालीको प्रतिव्यक्ति आय गणतन्त्रकालमा अझ तिव्रगतिमा बढेको छ। त्यसबेला प्रतिव्यक्ति आय ७६९० रुपैंया रहेकोमा हाल १३६७०७ रुपैया पुगेको छ। जसले नेपालीहरुलाई गरिवीको चंगुलबाट क्रमश बाहिर ल्याउदैछ। न्यून आयस्तर भएको देशबाट मध्यम आयस्तर भएको देशमा स्तरोन्तती गरिरहेको छ।
निचोड
सूचना प्रवाहको अथाह गतिमा रहेको सामाजिक सञ्जाललाई माध्यम बनाएर नकारात्मक भावना फैलाइन्छ। क्षणभरमै लाखौं मानिसका बीच पुग्ने सञ्जालको बलियो स्रोतलाई प्रयोग गरेर नकारात्मकताको खेतिपाति गर्नेहरुले त्यसप्रकारका जानकारी प्रवाह गर्ने गरेका छन्। व्यक्तिव्यक्तिको पहुँचमा भएको यो सञ्जाल मार्फत समाजलाई दिग्भ्रमित पार्नेहरुले समाजका सकारात्मक पक्षलाई छाँयामा पारेका छन्। उज्यालो पाटोलाई प्रवाह गर्न नसक्नु अर्काखाले सामाजिक सञ्जाल प्रयोगकर्ताको कमजोरी हो।
नेपाली समाज विकासको संक्रमणकालीन अवश्थामा छ। यसले न पुराना मान्यताहरु छोड्न सकेको छ न त नयाँ मान्यताहरु पूर्ण रुपमा अंगिकार गर्न सकेको छ। ५० को दशकमा सुरु भएको शसस्त्र युद्धले नेपाली समाजलाई उथलुथल पारिदियो। मानिसले सोच्नै नसक्ने अपराधिक क्रियाकलाप यसै समयमा भए। मिलेर बसेको नेपाली समाजलाई जाति, धर्म, भाषा, भूगोल, समुदाय आदिका नाममा व्यापक रुपमा विभाजन गर्ने त्यसबाट राजनैतिक फाइदा लिने स्वार्थी राजनीतिको विजारोपण यसै समयमा भयो। २०६३ सालमा गणतन्त्रको स्थापना भएपछि समावेशी नेपाल निर्माणका लागि स्थापना भएका विभिन्न संस्था,तिनलाई शसक्तिकरण गर्नका लागि आएको वैदेशिक लगानी र त्यसबाट दिक्षित एउटा समूह नकारात्मकताको खेतिपातीको प्रमुख कारक बन्यो। जसले विद्यमान सामाजिक अवस्थामा सामन्तवाद देख्यो। आपसमा थिचोमिचो भएको सम्झियो र द्वन्द्वको बीउको रुपमा जाति, धर्म, भाषा भूगोल जस्ता अस्त्र प्रयोग भयो।

त्यसैले व्यवस्थालाई गाली गर्नुअघि आफूलाई हेरौं। आफ्ना बाबुबाजेलाई हेरौं। उनीहरु पहिला कस्तो अवस्थामा थिए अहिले कस्तो अवस्थामा छन् ? पहिला उनीहरुको चेतना स्तर कुन तहमा थियो अहिले कुन तहमा वृद्धि भएको छ। उनीहरुले परिवर्तन आफ्नै जीवनकालमा भोगेका छन्। ढाकर र तोक्मामा नुन चामल बोकेर पालिनु पर्ने अवस्थाबाट नेपालीले मुक्ती पाएका छन्। अहिले अधिकांस नेपालीहरु आधा घण्टाको पैदल दुरीमा साना साना बजारहरु पाउन थालेका छन्। आखिर यी काम कसले गर्यो त ? हाम्रै सरकारले गर्यो,हाम्रै राजनीतिक दलका नेताले गरे। हाम्रै प्रणालीले गर्यो। स्वभाविक रुपमा यस्ता काम हुन्थे भने पञ्चायतका ३० वर्षमा पनि त हुन्थ्यो होला नि। त्यसबेला एउटा परिवारलाई केन्द्रमा राखेर तिनकै स्वार्थमा काम हुन्थे। अहिले आम जनताको हितलाई ध्यानमा राखेर काम हुन थालेको छ। त्यसबेला आफूलाई मन नपरेको कुरा बोल्ने र लेख्ने हक मानिसलाई थिएन तर अहिले गणतन्त्रले दिएको अभिव्यक्ति र राजनीतिक स्वतन्त्रतालाई उपभोग गरेर त्यही गणतन्त्रलाई गाली गर्ने हक कसले उपलब्ध गरायो होला ?
प्रतिक्रिया