अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनको विश्वास: आज शिक्षकसँग सहमति हुन्छ, भोलिदेखि विद्यालय फर्किनुहुन्छ

सत्ता गठबन्धनको विश्वास: आज शिक्षकसँग सहमति हुन्छ, भोलिदेखि विद्यालय फर्किनुहुन्छ


काठमाडौं-सत्ता गठबन्धनले सरकार र शिक्षकहरूसँग आजै सहमति हुने विश्वास लिएको छ। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार र शिक्षकहरूबीच आजै सहमति हुने विश्वास व्यक्त गर्नुभएको हो।

उपमहासचिव ज्ञवालीले शिक्षकहरूसँगको वार्ता सकारात्मक तरिकाले अगाडि बढेको बताउँदै आज दिनभरमा सरकार र आन्दोलनरत शिक्षकबिच सहमति हुने बताउनुभयो।

उपमहासचिव ज्ञवालीले नेपाल शिक्षक महासङ्घ र सरकारबीच छलफलमा बनेको सहमतिका आधारमा आजै निचोड निस्कने र बिहीवारदेखि सहज रूपमा पठनपाठन शुरु हुने विश्वास लिएको बताउनुभयो। उहाँले शिक्षकहरूको मागलाई सम्बोधन गर्न सरकारले खेलाँची नगरेको समेत स्पष्ट पार्नुभयो । उपमहासचिव ज्ञवालीले सरकारले शुरुदेखि नै शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षकहरूले ऐन नलिई नफर्कने अडान लिएका कारणले ढिलाइ भएको जिकिर गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘शिक्षकहरूसँगको वार्ता सकारात्मक तरिकाले अगाडी बढेको छ। आज दिनभरिमा सरकार र आन्दोलनरत शिक्षकबिच सहमति भएर भोलीदेखि सहज रूपमा पठनपाठन हुन्छ भन्नेमा मेरो विश्वास छ। नेपाल शिक्षक महासङ्घ र सरकारबीचको लगातारको छलफल र छलफलमा बनेको सहमतिका आधारमा मैले भनेको हुँ। सरकारले खेलाँची गरेको होइन । शुरुदेखि नै सरकारले उहाँहरूलाई वार्तामा बोलायो । विभिन्न कारणले उहाँहरू वार्तामा आउन सक्नुभएन । निवर्तमान शिक्षामन्त्रीज्युले पनि त्यो सम्बन्धमा धेरै प्रयत्नहरू गर्नुभएको थियो । शिक्षकहरूले ऐन नलिई फर्कँदैनौँ भनेर अडान लिएपछि केही ढिलाइ भएको हो । भोलिदेखि शिक्षकहरू विद्यालय फर्कनुहुन्छ भन्नेमा म आशावादी छु।’


उपमहासचिव ज्ञवालीले बिहीवारदेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालय फर्कने र सहज रूपमा पठनपाठनको सुचारु हुने आशा व्यक्त गर्नुभयो।