अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकार-शिक्षक सहमति

असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने

असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने


काठमाडौं-सरकार र आन्दोलनरत शिक्षकबीच असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति भएको छ। सिंहदरवारमा भएको छलफलमा सरकार र शिक्षकबीच उक्त सहमति भएको हो। 

‘संसदीय उपसमितिले विधेयक उपर दफाबार छलफल गरी निरन्तर काम गरिरहेको अवस्था छ। यसै सन्दर्भमा नेपाल शिक्षक महासंघसँग भएका सहमति/समझदारीलाई ध्यानमा राख्दै यो विधेयकलाई चालू अधिवेशनको असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गराउन आ-आफ्नो तहबाट सम्पूर्ण प्रयास गर्न हामी प्रतिवद्ध रहेका छौं,’ सहमति पत्रमा भनिएको छ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा २०८१ चैत २० गतेदेखि काठमाडौंमा जारी शिक्षक तथा कर्मचारीहरूको पेशागत आन्दोलनका सन्दर्भमा प्रमुख सत्तारुढ दलका नेताहरूले संयुक्त रुपमा जारी गरेको प्रतिबद्धता पत्रमा विद्यालय शिक्षा विधेयक २०८० चालु संसद् अधिवेशनभित्र-अर्थात २०८२ असार १५ गतेभित्र-पारित गराउने उल्लेख गरिएको छ।

आन्दोलनरत नेपाल शिक्षक महासंघसँगको वार्तामा समिति सभापति अम्मरबहादुर थापा, कांग्रेस सचेतक श्यामकुमार घिमिरे, एमाले सचेतक महेश बर्तौलाले चालु अधिवेशनको असार १५ गतेभित्र प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गराउन प्रयास गर्ने प्रतिबद्धता जनाउनु भएको हो।

उक्त प्रतिबद्धतासँगै नेपाल शिक्षक महासङ्घले जारी गरेको आन्दोलन हाललाई स्थगित गरिएको छ र सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई पुनः नियमित शैक्षिक गतिविधिमा फर्कन आग्रह गरिएको छ।