ललितपुर-ललितपुरको सातदोबाटो-हात्तीवन सडकमा ओरालोमा कार बिजुलीको पोलमा ठोक्किँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर छ भने दुई जनाको अवस्था सामान्य छ।
ललितपुर प्रहरीका अनुसार गएराति सवा ११ : १० बजे बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको हो।
गम्भीर घाइते गोदावरी नगरपालिका-३ का विशाल विकको पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जानकारी दिए ।

यस्तै म्याग्दी घर भई गोदावरी नगरपालिका-३ बस्ने वर्ष ४० अमरध्वज पौडेल, २९ वर्षीय मोसेर लामिछानेको पनि पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कार चालक रूपक सापकोटाकाे अवस्था भने सामान्य छ।
ठक्करबाट बिजुलीको पोल भाँचिएर बिच सडकमा पुगेपछि सवारीसाधन आवागमन बन्द गरिएको छ। ११ हजार भोल्टको हाइटेन्सन तार टाँगिएको बिजुलीको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो।
प्रहरीका अनुसार चालक सापकोटाले मापसे गरी तीव्र गतिमा सवारी चलाउँदा कार दुर्घटना भएको हो।
ललितपुर महानगरपालिकाका नगर प्रहरी, नेपाल विद्युत् प्राधिकरणको सहयोगमा पोल हटाइँदैछ।


प्रतिक्रिया