अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रचण्डलाई योगेश भट्टराईको प्रश्न: कुलमानलाई हटाउँदा तपाईंकै मुटुमा गोली लागेको जस्तो किन भयो ?

प्रचण्डलाई योगेश भट्टराईको प्रश्न: कुलमानलाई हटाउँदा तपाईंकै मुटुमा गोली लागेको जस्तो किन भयो ?


काठमाडौं-नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेपाल विद्युत प्राधिकरण्का कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुटुमै गोली लागेको जस्तो भएको टिप्पणी गर्नुभएको छ।

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले सोमवार विपक्षी दलका नेता प्रचण्डले सरकारमाथि लगाएको आरोपको प्रतिवाद गर्नुभएको हो।

सांसद भट्टराईले भन्नुभयो, ‘सरकारले एउटा सहसचिव सरहको कर्मचारीलाई हटाएकोमा तपाईंलाई यस्तो चिन्ता किन ? तपाईँको मुटुमा किला ठोके जस्तो किन भयो ? तपाईंकै मुटुमा गोली लागेको जस्तो किन भएको छ ? यो त मुटुमै गोली लागेको जस्तो भइराखेको छ उहाँलाई।’

सांसद भट्टराईले आफूले पनि प्रधान सेनापति हटाएको सम्झिन आग्रह गर्नुभयो। ‘म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भन्न चाहान्छु, तपाईंले त प्रधान सेनापति नै हटाउनु भएको थियो त, एकपल्ट सम्झिनु त प्रधान सेनापतिलाई कसरी हटाउनुभयो ? अस्तिको कार्यकालमा काम गरिरहेको मुख्यसचिवलाई हटाउनुभयो। हुँदै नभएको सुरक्षा सल्लाहकार पोष्ट खडा गर्नुभयो। अनि अर्को मुख्य सचिव ल्याउनु थियो।’

एमालेका सचिव भट्टराईले देशमा फजुल खर्चका आयोजनाहरूमा बजेट हाल्न माओवादी पार्टी र तत्कालीन प्रधानमन्त्री प्रचण्ड अग्रपंक्तिमा रहेको बताउनुभयो।

सचिव भट्टराईले दमकको बिजनेश टावरको विरोध गर्ने माओवादीले देशैभर भ्यू टावर र शहीद गेटका नाममा बजेट खेर फालेको दाबी गर्नुभयो । उहाँले सुनसरी मोरङ र झापाको जनसंख्या तथा भारतको समेत सम्बन्धका कारण दमकको व्यापारिक टावर भविष्यमा व्यापारिक केन्द्र बन्न सक्ने बताउनुभयो ।