काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओली पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो।
पुस्तकालयमा गोरखापत्र पढिरहेको आफ्नो तस्बिर फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्री ओलीले, ‘आज गोरखापत्र स्थापना दिवस । विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो। आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने गरेका छौँ । सम्पूर्ण पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैलाई हार्दिक शुभकामना’, लेख्नुभएको छ।

आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदै छ। गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ।
सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो। विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रुपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो।








प्रतिक्रिया