काठमाडौँ-नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले विज्ञान र प्रविधिलाई आत्मसात् गरेको बताउनुभएको छ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद रिजालले यस्तो बताउनुभएको हो।
सांसद रिजालले अहिलेको युग विज्ञान र प्रविधिको भएको बताउँदै विज्ञान र प्रविधिलाई आत्मसात् नगरी अब अगाडि बढ्न नसकिने बताउनुभयो। उहाँले विज्ञान र प्रविधिलाई आत्मसात् गरे मात्रै अगाडि बढ्न सकिने स्थितिमा नीति तथा कार्यक्रमले विज्ञान र प्रविधिलाई आत्मसात् गरेको भन्दै खुशी व्यक्त गर्नुभयो।
सांसद रिजालले अब नेपाललाई जमिनको सार्वभौमसत्ताले मात्रै नभएर आकाशको स्पेसमा पनि सार्वभौमसत्ता आवश्यक पर्ने बताउनुभयो। उहाँले अब विज्ञान र टेक्नोलोजीतर्फ अगाडी नबढ्न नसके प्रगति हासिल गर्न नसकिने बताउँदै नीति तथा कार्यक्रममा उठाइएका कुराहरू हेर्दा ठूला देखिए पनि अहिलेको बाध्यता रहेको जिकिर गर्नुभयो।
सांसद रिजालले भन्नुभयो, ‘अहिलेको युग विज्ञान र प्रविधितर्फ पुगेको छ। विज्ञान र प्रविधिलाई आत्मसात् नगरी अब अगाडी बढ्न सकिँदैन । अहिलेको युगको उत्पादक शक्ति भनेको विज्ञान र प्रविधि हो। जसले यसलाई आत्मसात गर्छ, उ अगाडि बढ्छ। अहिलेको नीति तथा कार्यक्रमले विज्ञान र प्रविधिलाई आत्मसात गरेको छ। अब हामीलाई जमिनको सार्वभौमसत्ताले मात्रै पुग्दैन, अब आकाशको स्पेसको सार्वभौमसत्ताको पनि आवश्यक पर्छ। त्यहाँ पनि हाम्रो सम्प्रभुता चाहिने भयो। हेर्दा लाग्न सक्छ, ठूला ठूला कुरा किन उठाएको, तर बाध्यता हो। अब हामी विज्ञान र टेक्नोलोजीतर्फ अगाडी नबढी केही हुँदैन।’
सांसद रिजालले नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको दाबी गर्दै यसले एकताको सन्देश दिएको समेत बताउनु भयो ।
प्रतिक्रिया