अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अहिले देखिएका सबै समस्यालाई सम्बोधन गर्ने गरी आमसञ्चार विधेयक ल्याइन्छ: सञ्चारमन्त्री गुरुङ

अहिले देखिएका सबै समस्यालाई सम्बोधन गर्ने गरी आमसञ्चार विधेयक ल्याइन्छ: सञ्चारमन्त्री गुरुङ


काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले देखिएका सबै समस्यालाई सम्बोधन गर्ने गरी आमसञ्चार विधेयक ल्याइने बताउनु भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस, २०८२ को अवसरमा बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान-२०८१ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

सञ्चारमन्त्री गुरुङले आमसञ्चार विधेयक ड्राफ्टको क्रममा रहेको बताउँदै यसले सञ्चार क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिरहेको बताउनु भयो। उहाँले पछिल्लो समय प्रिन्ट र बोडकास्टिङ मिडिया भन्दा अनलाइन मिडियामा धेरै समस्या देखिएको बताउनु भयो। उहाँले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको सामाजिक सञ्जाल ऐनलाई पेस गरिसकेको बताउनु भयो। यस्तै मिडिया काउन्सिल विधेयक पनि छलफलमा रहेको जिकिर गर्नुभयो।  

सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘अहिले हामी यो क्षेत्रको कुराकानी गरिरहँदा हामी संक्रमणकालमा छौं जस्तो लाग्छ। प्रेस काउन्सिलले अहिलेको सबै समस्याको सम्बोधन हुन सकेन भनेर मिडिया काउन्सिल विधेयक संसद्मा पेश गरेर छलफलको क्रममा छ। अहिले प्रिन्ट मिडिया, बोडकास्टिङ मिडियाको भन्दा पनि धेरै समस्या अनलाइन मिडियाको भएको हुनाले यसको सोसल नेटवर्क सञ्चालन र प्रयोगकर्ताहरूको व्यवस्थापन र नियमन गर्नको लागि सोसल मिडिया प्लेटफर्म प्रयोग, सञ्चालन र नियमनको लागि विधेयक पनि हामीले पेस गरिसकेका छौं। त्यो राष्ट्रिय सभामा छलफलमा छ । आम सञ्चार विधेयकमा पनि हामी छलफलको क्रममा छौं। ड्राफ्ट पनि हुँदैछ। यसमा हामी अहिलेको सबै समस्याको सम्बोधन गर्ने ढङ्गले त्यसलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भनेर लागिरहेका छौं।’

सञ्चारमन्त्री गुरुङले खतरनाक तरिकाले फैलिएको साइबर क्राइमलाई नियन्त्रण र र नियमन गर्नको लागि साइबर सुरक्षा ऐन प्रश्ताव गर्न लागिएको समेत बताउनु भयो ।