काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्राथमिकता निर्धारण गरेर कुष्ठरोगको नियन्त्रणमा लाग्न जरुरी रहेको बताउनुभएको छ।
बिहीवार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै स्वास्थ्यमन्त्री पौडेल यस्तो बताउनुभएको हो। स्वास्थ्यमन्त्री पौडेलले प्राथमिकतालाई प्रभावकारी ढंगबाट निर्धारण गरेर अघि बढ्न नसकेको स्वीकार गर्दै आगामी दिनमा प्रभावकारी बन्नुपर्ने जरुरी रहेको बताउनुभयो। उहाँले कुष्ठरोग नियन्त्रणका लागि आवश्यक रणनीति अख्तियार गर्न नसकेको बताउनुभयो।
स्वास्थ्यमन्त्री पौडेलले परिस्थिति बुझेर त्यसअनुसारको योजना निर्माण गर्न नसकेको भन्दै कतिपय कुराहरु कानूनमा भएपनि कार्यान्वयन हुन नसकेको बताउनुभयो। नेपालको योजनाको खाका नेपालले नै बनाउनुपर्ने र प्राथमिकताहरु तय गरेर अघि बढ्नुपर्ने बताउनु भयो।
मन्त्री पौडेलले भन्नुभयो, ‘हामीले प्राथमिकतालाई प्रभावकारी ढंगबाट निर्धारण गरेर अघि बढ्न सकेका छैनौँ । थुप्रै काम गरेका छौँ । तर यति धेरैको सहकार्य हुँदा यसको गति बढ्नुपर्ने हो। अलि परिणाममुखी हुनुपर्ने हो। त्यहाँ तालमेल मिलिरहेको छैन। आवश्यक रणनीति अख्तियार गर्न सकिएको छैन। परिस्थिति बुझेर त्यसअनुसारको योजना निर्माण गर्न सकिएको छैन। कतिपय कुरा कानूनमा छ, कार्यान्वयन हुन सकेको छैन। कानून पनि अपूर्ण भएको स्थिति छ। यो सबै पक्षलाई ख्याल गरेर हामी त्यस ढंगबाट अघि बढौँ। हाम्रो डोनर पार्टनरहरुलाई पनि हाम्रो प्राथमिकता यो हो। यसमा तपाईंहरुले सहयोग गर्नुपर्छ भनौँ । हाम्रो योजनाको खाका हामीले बनाउनुपर्छ। हाम्रो बाटो, प्राथमिकता हामीले नै तय गर्नुपर्छ।’
मन्त्री पौडेलले २०३० मा कुष्ठरोग नेपालबाट सम्पूर्ण रुपमा सधैँका लागि उन्मुलन हुने अठोट सम्मेलनले गर्न जरुरी रहेको बताउनु भयो।
प्रतिक्रिया