काठमाडौँ-नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जनताले अनुभव गर्ने प्रकारको विकास खोजेको बताउनु भएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद नेम्वाङले योजनाको चर्चा मात्रै नभइ उपलब्धिको अनुभूति जनताले चाहेको बताउनु भएको हो।
‘जनताले अब ‘सुन्ने’ होइन, ‘अनुभव गर्ने’ विकास खोजेका छन्। योजनाको चर्चा हैन, उपलब्धिको अनुभूति चाहेका छन्,’ सांसद नेम्वाङले भन्नुभयो।
सांसद नेम्वाङले सांसदको रुपमा प्रतिनिधिसभामा शपथ लिएको आज एक वर्ष पुगेको छ। सांसदको शपथ लिएको एक वर्षमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन पाउनुलाई ‘संयोग’ को रुपमा लिँदै नेम्वाङले इलामका जनतालाई स्मरण गरेका छन् ।
जनतामा साधरणजस्तो देखिन विभिन्न आकांक्षाहरू पनि अधुरै रहेको भन्दै त्यसतर्फ काम गर्नुपर्ने उहाँको भनाइ थियो।
‘अवसरको खोजीमा विदेशिन नपरोस् भन्ने चाहना, खेती गरेर जीउन सकियोस् भन्ने आशा, छोराछोरीले राम्रो शिक्षा पाऊन् भन्ने इच्छा, र बिरामी पर्दा उपचार पाईयोस् भन्ने विश्वास यी साधारण जस्ता देखिने आकांक्षाहरू आज पनि धेरै नागरिकका लागि अधुरै छन्,’ नेम्वाङले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भन्नभयो।
आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको लक्ष्यसहित नीति तथा कार्यक्रम आएको बताउँदै उहाँले ती मार्गनिर्देशक सिद्धान्तहरू कार्यान्वयनमा ल्याउने प्रयास भएको बताउनुभयो ।
सरकारले युवाको सशक्तिकरण, सीप विकास, उद्यमशीलता, रोजगारी सिर्जना र नेतृत्वमा लगानी गर्ने प्रतिबद्धता देखाएको उहाँले बताउनुभयो । ‘खेलकुद प्रवद्र्धनमार्फत मानसिक र शारीरिक विकासमा समेत योगदान पुर्याउने उद्देश्य प्रशंसनीय छ,’ नेम्वाङले भन्नुभयो।
योजनाहरूको निरन्तरता-उत्तरदायित्वको प्रतिबद्धता यस नीति तथा कार्यक्रमले अंगिकार गरेको उहाँले बताउनु भयो । ‘यो रणनीतिक लगानीमार्फत देशलाई कर र रेमिट्यान्समाथिको निर्भरता घटाउँदै, ऊर्जा, कृषि, पर्यटन र घरेलु उद्योगमा आत्मनिर्भर बनाउने दिशामा अग्रसर भएको छ,’ नेम्वाङले भन्नभयो।
जनताले विकासको महसूस गर्न सक्ने गरी काम गर्नु आफूहरूको साझा उत्तरदायित्व रहेको उहाँले बताउनु भयो।
प्रतिक्रिया