काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुतिर लक्षित गर्दैै आउने जेठ १५ गते मात्र नभइ कुनै जेठ १५ मा पनि राजतन्त्र नफकिर्ने ठोकुवा गर्नुभएको छ।
आइतबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो।
प्रधानमन्त्री ओलीले राजतन्त्र पुनःस्थापना हुन नसक्ने बताउनु भयो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आज खुलेआम लोकतान्त्रिक प्रणालीभित्र लोकतन्त्र उल्ट्याउने शंखघोष गर्नुहुन्छ र देशलाई प्रतिगमनमा लैजाने हुंकार गर्नुहुन्छ। अचम्म लाग्छ मलाई। जेठ १५ गते ? यस पटकको जेठ १५ गते होइन। अब आउने कुनै पनि जेठ १५ गते पर्खिनुस्, तपाईंहरुको सपना साकार हुने छैन। सपना काम लाग्दैन, यसमा जोड नगर्न आग्रह गर्न चाहन्छु। समयलाई चिनौँ, समयानुसार अघि बढौँ। शान्तिपूर्ण आन्दोलनभित्रको कुरा सिके राम्रो हुन्थ्यो । देश संविधान र कानूनअनुसार चल्छ । संविधान र कानूनअनुसार चल्न तयार हुनुपर्छ।’
प्रधानमन्त्री ओलीले प्रतिगमनको वकालत गरेर टाउको ठोक्किने गरी उफ्रिनुको कुनै अर्थ नरहेको बताउनुभयो।
संविधानअनुसार अघि बढ्न प्रधानमन्त्री ओलीले सुझाव समेत दिनुभयो। राजावादीहरूले आगामी जेठ १५ गते आन्दोलनको घोषणा गरेको छ।
प्रतिक्रिया