अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार: सभामुख घिमिरे

बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार: सभामुख घिमिरे


काठमाडौं-सभामुख देवराज घिमिरेले आन्तरिक तथा बाह्य द्वन्द्वबाट आक्रान्त विश्वमा बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार भएको बताउनु भएको छ।

२५६९औं बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै विश्वभर फैलिएको बुद्ध धर्मको मूल उद्गम थलो नेपाल हो भन्ने तथ्यले नेपालीलाई गौरवको अनुभूति हुने उल्लेख गर्नुभएको छ ।

सभामुख घिमिरे भन्नुभएको छ, ‘गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने बुद्ध जयन्तीले हामीलाई शान्ति, करुणा र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने बुद्ध जयन्तीले विश्वभरका करोडौँ मानिसहरूलाई सुमार्गमा लम्कन उत्प्रेरित गरेको छ।’ नेपालमा बौद्ध धर्म मात्र एक धार्मिक आस्था नभई हाम्रो सभ्यता, संस्कार र परम्परासँग पनि गहिरो रूपमा जोडिएको उहाँको भनाइ छ ।

‘नेपाललाई ‘शान्तिको भूमि’ भनिनुका पछाडि यही ऐतिहासिक तथा आध्यात्मिक पृष्ठभूमि प्रमुख कारण हो, बुद्ध धर्मको मूल आधार पञ्चशीलले व्यक्ति, समाज र राष्ट्रलाई शुद्ध आचरणतर्फ डोर्‍याउने मार्ग देखाउँछ’, सभामुख घिमिरेले भनेका छन् ।

बुद्धका उपदेशहरू मेलमिलाप, विश्वास, समता र करुणामा आधारित भएको र ती शिक्षाहरूलाई जीवनशैलीमा आत्मसात् गर्नु नै आजको विश्वका लागि मानवता, सहिष्णुता र सहअस्तित्वको मार्ग भएको उहाँको भनाइ छ।

सभामुख घिमिरे भन्नुभएको छ, ‘शान्ति, सत्य र अहिंसाका प्रतीक भगवान बुद्धको जन्मजयन्तीले सम्पूर्ण मानव समुदायलाई आपसी सम्मान, संयमता र सुदृढ सहकार्यतर्फ प्रेरित गरोस् भन्ने कामना गर्दै पुनः हार्दिक शुभकामना प्रकट गर्दछु ।’