अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बुद्ध जयन्ती: लुम्बिनीमा विशेष समारोह, प्रधानमन्त्री ओली लुम्बिनी जानुहुँदै 

बुद्ध जयन्ती: लुम्बिनीमा विशेष समारोह, प्रधानमन्त्री ओली लुम्बिनी जानुहुँदै 


काठमाडौं-बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी जाँदैहुनुहुन्छ। लुम्बिनी विकास कोषले सोमबार आयोजना गरेको बुद्धजयन्ती तथा लुम्बिनी दिवस मूल समरोहमा प्रधानमन्त्री ओली जान लाग्न भएको हो।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा विभिन्न देशका राजदूतहरू पनि समारोहमा सहभागी हुने कार्यक्रम छ।

लुम्बिनी बौद्धदर्शनको उत्पति भएको थलो समेत भएकाले बुद्धजयन्तीलाई विशेष रूपमा मनाउने गरी त्रिदिवसिय कार्यक्रम सुरु गरिएको लुम्बिनी विकास जनाएको छ।

बुद्धको ज्ञानको महत्व दर्शाउनका लागि देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिका सहित वृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न समेत लुम्बिनी विकास कोषले अपिल गरेको छ।

बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाई कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, शाहाकारी खाना महोत्सव, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रभुति उत्सव लगायतका कार्यक्रमहरु आयोजना गरेको छ।

आज २५६९औँ बुद्धजयन्ती देशभर विविध कार्यक्रमका साथ श्रद्धा, भक्ति र शान्तिको सन्देशका साथ मनाइँदैछ। शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) एकै दिन– वैशाख शुक्ल पूर्णिमाका दिन परेकाले यस दिनलाई विशेष त्रिसंयोग दिवसको रूपमा मनाउने परम्परा छ।

लुम्बिनी, स्वयम्भू, बौद्ध लगायतका प्रमुख बौद्ध स्थलमा भव्य पूजा, आराधना, प्रवचन तथा शान्तिसन्देशमूलक कार्यक्रम आयोजना हुँदैछन्। चैत्य, गुम्बा, विहारमा बौद्ध धर्मगुरु र लामाले परम्परागत विधिअनुसार पूजा तथा ध्यान कार्यक्रम गर्दैछन्।

भगवान बुद्धको जन्म २६४९ वर्षअघि, ई.पू. ६२३ मा हालको रुपन्देही जिल्लास्थित लुम्बिनीको सुन्दर बगैचामा राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा भएको थियो। राजकुमार सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा सुख–सयल त्यागी दुःख निवारणको खोजीमा तपस्याको बाटो समात्नुभएकाे थियाे। तपस्याबाट प्राप्त ज्ञानपछि बुद्धत्व प्राप्त गरी उहाँले विश्वशान्तिका लागि अमूल्य सन्देशहरू फैलाउनुभएकाे थियाे।

“अहिंसा नै शान्ति र मैत्रीको आधार हो” भन्ने कालजयी वाणीका साथ भगवान बुद्ध आज पनि विश्वभर शान्तिका प्रतीकका रूपमा पूजित हुनुहुन्छ।

लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिने गरी शोभायात्रा गरिने छ। २५६९औं बुद्धजयन्ती एवं लुम्बिनी दिवस का लागि संस्कृति पर्यटन तथा नागरिक पर्यटन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मुल आयोजक समिति गठन गरि तयारी गरिएको थियो।