अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

दुई दशकयता दलित समुदायको जनसंख्या निरन्तर वृद्धि

दुई दशकयता दलित समुदायको जनसंख्या निरन्तर वृद्धि


काठमाडौं- नेपालमा तराई दलित भन्दा पहाडी दलितको जनसंख्या झण्डै दोब्बर देखिएको छ । दलितको कुल जनसंख्या ३८ लाख ९८ हजार ९ सय ९० रहेको छ । जस मध्ये पहाडी समुदायका दलितको जनसंख्या २५ लाख ६ हजार ६ सय १२ अर्थात कुल जनसंख्याको ८.६ प्रतिशत रहेको छ । तराइ दलितको जनसंख्या १३ लाख ९२ हजार ३ सय ७८ अर्थात कुल जनसंख्याको ४.८ प्रतिशत रहेको छ । नेपालको कुल जनसंख्यामा दलित समुदायको जनसंख्या ३८ लाख ९८ हजार ९ सय ९० अर्थात कुल जनसंख्याको १३.४ प्रतिशत रहेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ का आधारमा तयार गरिएको प्रतिवेदन अनुसार पहाडी दलितमा सबैभन्दा बढी जनसंख्या विश्वकर्मा कामी समुदायको ५ प्रतिशत रहेको छ । त्यसपछि क्रमश परियार दमाइ ,सार्की,मिजार ,वादी र गाइने रहेका छन् । यसैगरी तराइ दलिततर्फ चमार हरिजन रामको जनसंख्या ४.८ प्रतिशत रहेको छ । त्यसपछि क्रमश मुसहर,दुसाध पासवान,पासी तत्मा आदि रहेका छन् ।


राष्ट्रिय तथ्यांक कार्यालयको जनसंख्या शाखाका प्रमुख राजन सिलवालले प्रष्तुत गरेको तथ्यांक अनुसार विगत दुई दशकमा कुल जनसंख्याको करिब अढाई प्रतिशत जनसंख्था थपिएको छ । २०५८ सालको जनगणनामा ११ प्रतिशत जनसंख्या दलित समुदायको रहेकोमा २०६८ मा १२.५ र २०७८ मा १३.४ प्रतिशत पुगेको छ । २०५८ मा ७.१ प्रतिशत रहेका पहाडी दलित समुदाय २०६८ मा ८.१ र २०७८ मा ८.६ पुगेको देखिन्छ । यसैगरी सो अवधीमा ३.९ प्रतिशत रहेको तराइ दलितको जनसंख्या हाल ४.८ पुगेको छ । यो संख्या २०६८ मा ४.४ प्रतिशत पुगेको थियो । विगतका जनगणनामा दलित समुदायले पनि आफूहरुलाई फरक समुदायमा सुचिकृत गराउने गरेको तर राज्यले समावेशी नीति ल्याएपछि दलितहरुले आफ्नो पहिचान गोप्य नराखेको प्रमुख तथ्यांक अधिकारी मधु सुधन बुर्लाकोटी बताउनुहुन्छ ।
नेपालको कुल जनसंख्याको २७.१ प्रतिशत सहरी क्षेत्रमा बसोबास गरे पनि दलित जनसंख्याको १७.२ प्रतिशत मात्र सहरी क्षेत्रमा बसेको पाइएको छ । त्यसमा पनि पहाडी दलित १८.९ र तराइ दलित १४.१ प्रतिशत सहरी क्षेत्रमा बसोबास गरेका छन् ।
गैर दलित जातजातीको तुलनामा दलितको औषत आयु पनि कमी देखिएको छ । ज्येष्ठ नागरिक भत्ता पाउने (६८ वर्ष भन्दा माथीको जनसंख्या) गैर दलित समुदायको जनसंख्या ५.४ प्रतिशत रहेकोमा पहाडी दलितको ४.१ र तराई दलितको ३.६ प्रतिशत रहेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डिराज लामिछानेले राष्ट्रिय जनगणना २०७८ मा संकलन गरिएका तथ्यांकहरुलाई विषयगत रुपमा विष्लेषण गरेर प्रतिवेदन प्रकाशन गर्ने क्रममा दलित समुदायको जनसंख्यिक र सामाजिक विषयका तथ्यांकका प्रतिवेदनहरु सार्वजनिक गरिएको बताउनुभयो । कार्यक्रम तथ्यांक अधिकृत दिनानाथ लम्सालले सञ्चालन गर्नु भएको थियो ।