भक्तपुर-नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री महेश बस्नेतले मिसन २०८४ सफल पार्नका लागि पार्टीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ। आन्तरिक एकता खलबल्याएर पार्टी बलियो हुन नसक्ने बस्नेतको भनाइ छ।
एमाले मध्यपुरथिमी नगर कमिटीको आयोजनामा आज लोकन्थलीमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरेर एमाले माथिको प्रहार विपक्षीहरूले सशक्त बनाएकोले त्यसको प्रतिवाद हरेक कार्यकर्ताले गर्नुपर्ने बताउनुभयो। ‘पहिला पहिला हतियारको युद्ध हुन्थ्यो अहिले साइबर युद्ध हुन्छ’, नेता बस्नेतले भन्नुभयो’, ‘त्यसैले एमालेका सबै कार्यकर्ता साइवर युद्धका लागि तयार भएर बस्नुपर्दछ। हामीले जवाफी कारबाही मात्र हैन गलत प्रकृतिका ठाउँमा आफूले पनि प्रहार गर्नुपर्दछ।’
प्रविधिले आम मानिसको दैनिकीलाई नै स्थानान्तरण गरिरहेका बेला त्यसलाई अपनाउनु एमालेका हरेक सदस्यको कर्तव्य भएको उहाँको भनाइ छ। ‘सामाजिक सञ्जालका कारण मानिसले भोगेको होइन,देखेको कुरालाई सत्य मान्न थाल्यो’ बस्नेतले भन्नुभयो ‘त्यसैले पार्टीका धारणाहरु पनि सामाजिक सञ्जाल मार्फत नै आम मानिसकहाँ पुर्याउनु पर्ने भयो।’

नेता बस्नेतले पार्टीको कमिटीमा बसेका नेता कार्यकर्ताले एमालेका विषयमा आधारभूत जानकारी राख्नु सुझाव दिनुभयो। ‘पार्टीको स्थापना,एमालेको मार्गदर्शक सिद्धान्त,मार्क्सवाद, लेनिनवाद, जबज आदि जस्ता आधारभूत विषयमा कमिटीमा रहेका साथीहरू जानकार हुनुपर्दछ। त्यसका लागि हरेक दिन कुनै कुनै दस्ताबेज पढ्ने बानी बसालौँ।’
नवउदारवादी चरित्रका कारण रवि र बालेन जस्ता पात्र खडा भएको बताउदै लोकप्रियतावादमा रमाउने यस्ता प्रवृतिका विरुद्ध एमालेले जनताको मन जित्ने कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ।
भक्तपुरे दही देशैभरि बेचौं
कार्यक्रममा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले पार्टी कामका अतिरिक्त हरेक नेता कार्यकर्तालाई उत्पादनमा जोडिन आग्रह गर्नुभयो। उहाँले अधिवेशनमा पद पाउनका लागि लर्को लाग्ने तर पद पाएपछि बैठकमा कोरम नपुग्ने समस्या एमालेमा देखिनु स्वाभाविक नभएको बताउनुभयो।
अध्यक्ष ढुङ्गेलले भक्तपुरमा एमालेले विकासको बहार ल्याउने तर विकासको बारेमा जानकारी नै नभएका उम्मेदवारले निर्वाचन जित्ने कुरालाई २०८४ मा सच्याउनु पर्ने बताउनुभयो। ‘भक्तपुरबाट डोकोमा साग बोकेर काठमाडौं जानुपर्ने बाध्यता हामीले हटायौं। गाउँ-गाउँ टोल टोल सडक निर्माण हामीले गर्यौँ तर यही ठाउँबाट महेश बस्नेतहरूले चुनाव हार्ने कुरा जायज होइन’ ढुङ्गेलले भन्नुभयो ‘एमालेले गरेका कामको प्रचार हरेक घरघरमा गरौं। मिसन ०८४ मा नेमकिपा र काँग्रेस होइन एमालेले जित्ने वातावरण बनाउन आजैबाट लागौं।’

अध्यक्ष ढुङ्गेलले भक्तपुरको दहीलाई देशैभरि पुर्याउनु पर्ने बताउनुभयो। ‘भक्तपुरको दही देशैभरि चर्चित छ। यसको प्रचार गरिरहनु पर्दैन’ढुङ्गेलले भन्नुभयो ‘यसको उत्पादन बढाऊँ। देशैभरि बजारीकरण गरौं। भक्तपुरको समृद्धि दहीबाटै सम्भव छ।’ उहाँले पोखरा,चितवन,झापा,बुटवल नेपालगन्ज,धनगढी जस्ता सहरी क्षेत्रमा तत्कालै यसको आपूर्ति गर्न किसानलाई उत्साहित गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो।
प्रशिक्षण कार्यक्रममा केन्द्रीय सङ्गठन विभागका तर्फबाट पार्टी सदस्यता अनलाइनमा भर्ने तरिका र नेकपा एमाले एप डाउनलोड गर्ने तरिकाका विषयमा नेता कार्यकर्तालाई जानकारी गराइएको थियो। आइटी विज्ञ अफ्जल मियाले पार्टी सदस्यता भर्ने तरिका,एमाले एप डाउनलोड गर्ने तरिका र आफ्नो विवरण चर्ने तरिकाका विषयमा जानकारी गराउनुभएको थियो । मियाले सामाजिक सञ्जाल सदुपयोग गर्ने तरिकाका बारेमा पनि जानकारी गराउनुभएको थियो।
मोबाइल एप डे मनाउने घोषणा
कार्यक्रममा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले प्रविधिलाई पार्टीको पक्षमा सदुपयोग गर्न आम कार्यकर्ता तयार रहनु पर्ने बताउनुभयो। उहाँले सामाजिक सञ्जाल र आम सञ्चार माध्यम मार्फत संघ,प्रदेश र स्थानीय सरकारले गरेका सकारात्मक कामको प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो। उहाँले एमालेले विकास गर्ने जस अरुले लिने अवस्थाको आजैबाट अन्त्य गर्नुपर्ने बताउनुभयो। देउजाले प्रविधिलाई पार्टी हितमा प्रयोग गरेर मात्र मिसन ०८४ मा सफल हुने बताउनुभयो।

उहाँले भक्तपुरमा ७ हजार पार्टी सदस्य भए पनि चार सय जनाले मात्र मोबाइल एप डाउनलोड गरेकोले त्यसलाई शतप्रतिशत पुर्याउनु पर्ने बताउनुभयो। ‘एमालेमा कुनै पनि काम गर्न अभियान पर्खने बानी लाग्यो। त्यसैले भक्तपुर एमालेले अब कुनै दिनलाई मोबाइल एप डे घोषणा गर्दछ’ देउजाले भन्नुभय, ‘त्यस दिन हामी सबै पार्टी सदस्यलाई मोबाइल एप डाउनलोड गर्न लगाउदछौं। हाम्रा स्वयंसेवकले त्यो काम गर्नुहुन्छ।’ पार्टीको मोबाइल एप भएमा पार्टीका गतिविधि सहज ढङ्गले जानकारी लिन सकिने देउजाले बताउनुभयो।
पार्टी सदस्य भएपछि आफ्नो कर्तव्य थाहा पाउनुहोस
कार्यक्रममा पार्टीको मध्यपुरथिमी नगर कमिटीका अध्यक्ष सूर्यलाल श्रेष्ठले एमालेको सदस्य भइसकेपछि निश्चित कर्तव्य र जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले हरेक कमिटीका बैठक नियमित गर्न,बैठकमा सबै पदाधिकारी र सदस्य अनिवार्य उपस्थित हुन,इन्चार्जसँग परामर्श गर्न र इन्चार्जले पनि स्पष्ट निर्देशन र सुझाव दिन आग्रह गर्नुभयो।
‘एमालेका कमिटीमा बसेपछि जिम्मेवारी पुरा भयो भन्ने नसोच्नुहोस्’ श्रेष्ठले भन्नुभयो ‘कमिटीमा बस्नु भनेको तपाईँ परीक्षा हलमा बसेजस्तै हो। तपाईँले जिम्मेवारी कुशलतापूर्वक पुरा गरेको छ कि छैन भनेर त्यसै दिनबाट परीक्षा सुरु हुन्छ। त्यसैले तपाईँहरूले सबैले विशिष्ट श्रेणी ल्याउने गरी काम गर्नुहोस्।’


प्रतिक्रिया