काठमाडौं-लायन्स अन्तर्राष्ट्रिय फाउण्डेशन (एलसिआईएफ) का एरिया लिडर, मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालका पूर्व मल्टीपल काउन्सिल अध्यक्ष राजन लम्सालले लायन्स अन्तर्राष्ट्रिय निर्देशक (इन्डोर्सी) पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको कन्भेन्सन २०८१ फागुन २४ गते पोखरामा सम्पन्न तेस्रो महाधिवेशनबाट आई.डि. पदमा इन्डोर्सी लिनका लागि लम्सालले उम्मेदवारी दर्ता गराउनु भएको हो।
लम्सालले डिष्ट्रिक्ट ३२५ आई नेपालका तेस्रो महाधिवेशन नोमिनेसन कमिटी चेयरपर्सन पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेललाई उम्मेदवारी फाइल हस्तान्तरण गर्नु भएको हो।
लम्सालले मल्टिपल डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो महाधिवेशनबाट इन्डोर्सी लिइसकेपछि आगामी वर्षको जेठ महिनामा हुने मल्टिपल कन्भेन्सनमा इन्टरनेशनल डाइरेक्टरमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुहुनेछ। मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालबाट अन्तर्राष्ट्रिय डाइरेक्टर पदमा इन्डोर्सी भएमा सन् २०२६ को लायन्सको अन्तर्राष्ट्रिय सम्मेलनबाट दुई वर्षका लागि चयन हुने छ।

उम्मेदवारी किन ?
लायन्स क्लबको अन्तर्राष्ट्रिय निर्देशक बनेपछि नेपालको झण्डा र राष्ट्रिय गानलाई संसारभर चिनाउने अभियानमा लाग्ने छु। नेपालमा लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर लागिरहेको छु। त्यसैले तपाईंहरू सबैको प्रेरणा, उत्साह र निरन्तर साथले लायन्स अन्तर्राष्ट्रियका लागि अन्तर्राष्ट्रिय निर्देशक (इन्डोर्शी) पदको मनोनयन पत्र औपचारिक रूपमा दर्ता गराइसकेको छु। लायन्स अन्तर्राष्ट्रिय मल्टिपल कन्भेन्सनमा तपाईंहरुको अमूल्य मत र समर्थनको आशा राखेको छु। यहाँहरुको साथ र सहयोगले मलाई यो यात्रामा थप सफल र प्रेरित बनाउनेछ भन्ने पूर्ण विश्वास लिएको छु।
को हुन् लायन राजन लम्साल ?
स्याङ्जा जिल्लाको ज्याग्दी खोलामा वि.स. २०२६ सालमा राजन लम्सालको जन्म भएको हो। पिता पदमराज लम्साल र माता पुष्पा लम्सालका तीन सन्तानमध्ये उहाँ जेष्ठ सुपुत्र हुनुहुन्छ। हाल उहाँ काठमाडौं महानगरपालिका वडा नं. २६, सामाखुशी टाउन प्लानिङमा बस्दै आउनु भएको छ।
आफ्नो कर्मलाई मानव सेवामा समर्पित गर्ने लम्साल आफ्ना बुवाआमा र हजुरबुवाआमालाई आदर्श व्यक्तित्वमा रुपमा लिनुहुन्छ। बाल्यकालदेखि नै सकारात्मक सोचको विकास गर्नमा घरपरिवारको महत्वपूर्ण भूमिका रहेको छ। लम्साल नेपाली लायनवादको इतिहासमा विशिष्ट पहिचान निर्माण गर्दै लायन्स अन्तर्राष्ट्रिय नेतृत्वकर्ताका रुपमा आफूलाई सतिशाल झैं क्रियाशील गराउँदै छन्। उहाँको काम गर्ने सकारात्मक शैली र प्रवृत्तिले हरेक नेपाली लायनवादीहरुको मन र मुटुमा बस्न सफल व्यक्तिकाका रुपमा दर्ज गराउनु भएको छ।
निराशा वैयक्तिक जीवन असफल बनाउने कारक तत्व हो। जीवन सफल बनाउन सदा सकारात्मक सोच र आशावादी दृष्टिकोण राख्नुपर्छ भन्ने मान्यतमा अडिक रहने लम्सालको वाक्पटुता निकै नै प्रभावशाली छ। लम्सालको लोभ लाग्दो व्यक्तित्व, मृदुभाषा शैली अनुकरणीय छ। सत् कर्मले व्यक्तिको व्यक्तित्वमा निखार ल्याउँछ र त्यस्तो कर्म समाज र राष्ट्रका लागि अनुकरणीय हुन्छ। तसर्थ, निस्वार्थ कर्म गर्नुपर्छ भन्ने उहाँको दृष्टिकोण छ। उहाँको त्यही सकारात्मक दृष्टिकोणले उहाँलाई लायन्सको क्षेत्रमा आज नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नै एउटा आशा लाग्दो र भरपर्दो लिडरको रुपमा स्थापित गराएको छ। सधैं आफ्नो देशप्रति गौरव गर्ने र लायनवादलाई जीवनको अभिन्न अंगको रुपमा शिरोपर गर्ने उहाँको शैली र प्रवृत्ति छ। उहाँ सादा जीवन र उच्च विचारका आदर्शवादी अनुयायी पनि हुन्।

समाज सेवामा रमाउनेका लागि लायन राजन लम्सालको नाम नौलो होइन । उहाँ हजारौं नेपाली लायन्स सदस्यहरूका उत्प्रेरक व्यक्तित्व पनि हुन् । लायन्सको अन्तर्राष्ट्रिय नेतृत्व समेत हाँक्ने विशिष्ट क्षमता र कुशल नेतृत्वशक्ति उहाँसँग छ।
सामाजिक सेवा मात्र होइन, उहाँ नेपाली मौलिक कला, संस्कृति, लोकगीत र भजनको संरक्षणमा पनि उत्तिकै चासो राख्नहुन्छ। नेपाली लोक तथा दोहोरी गीत, लोक भजन समेतको जगेर्नामा उहाँको विशेष योगदान छ। उहाँकै सक्रियतामा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको जन्म भएको हो। प्रतिष्ठानको संस्थागत विकासमा उहाँको योगदान अतुलनीय छ। करीब साढे दुई दशकदेखि उहाँ प्रतिष्ठानको केन्द्रीय सल्लाहकार हुनुहुन्छ।
शिक्षा हासिल
गाउँकै जनप्रिय माविबाट प्रारम्भिक शिक्षा हासिल गरेका लम्सालले उक्त विद्यालयमा ७ कक्षासम्म पढ्नुभयो। कक्षा-८ पढ्न उहाँ बुटवलस्थित बुटवल माविमा भर्ना हुनुभएको थियो। उहाँले बुटवल माविबाटै २०४३ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएको हो । लम्साले काठमाडौंको पिपुल्स क्याम्पसबाट व्यवस्थापन संकायमा प्रविणता तह, शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ।
जागीरे यात्रा
स्नातक तहसम्मको अध्ययन पछि आत्मनिर्भर बन्नुपर्छ भन्ने भावनाबाट प्रभावित लम्सालले चितवनमा रहेको आइल्याण्ड जंगल रिसोर्टको काठमाडौंस्थित मुख्य कार्यालयमा लेखापालको रुपमा जागिर शुरु गर्नु भयो। त्यहाँ करिब १२ वर्षसम्म काम गरी फाइनान्स र प्रशासनिक अनुभव प्राप्त गरेपछि लम्सालले ट्राभल एजेन्सी, होटेल व्यवसाय र म्यानपावर कम्पनीमा साझेदारी व्यवसाय सञ्चालन गर्नुभयो। कलेज, कन्सल्टेन्सी, विभिन्न बैंक तथा जलविद्युत कम्पनीहरुको प्रोमोटर, यातायातका साधनहरूको आयातकर्ता साथै अन्य थुप्रै निजी क्षेत्रको कम्पनीहरुमा सहभागी हुँदै हाल उहाँ शेयर ब्रोकर व्यवसायमा राम्रैसँग जमेका छन्। सामाजिक कर्म गर्नलाई सहयोगी हातहरु नामक संस्था खडा नै गर्नु भयो। उहाँ सामाजिक संस्था सहयोगी हातहरुको संस्थापक अध्यक्ष समेत हुन्।
लम्सालको लायन्स यात्रा
सन् १९९७ मा लायन्स क्लब अफ सङ्खुवासभा खाँदबारीको सदस्यता लिएर लम्सालको लायनिज्म यात्रा सुरु गरेका हुन्। २७ वर्षको उमेरदेखि नै सामाजिक सेवाभावका कामहरूमा जोडिएका लम्सालले सन् २०१०-११ मा तत्कालीन डिष्ट्रिक्ट ३२५ बी को डिष्ट्रिक्ट गभर्नर, सन् २०११-१२ मा मल्टिपल काउन्सिल चियरपर्सन, सन् २०१२-१४ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को एसएफएमडी चेयरपर्सन, सन् २०१४-१७, २०१७-१९ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएलटी को-अर्डिनेटर, सन् २०१७-१९ स्पेसियालीटी क्लब कन्ट्री को–अर्डिनेटर, सन् २०१९-२२ मा मल्टिपल डिष्ट्रिक्ट ३२५ को जीएमटी को-अर्डिनेटर हुँदै लायन वर्ष २०२२-२३, २०२३-२४ र २०२४-२५ मा एलसीआईएफ एरिया लिडरको रुपमा निरन्तर रुपमा लायन्समा सक्रिय नेतृत्व गरिसक्नु भएको छ।
डिष्ट्रिक्ट गभर्नर भए पश्चात् मल्टिपल डिष्ट्रिक्ट तथा लायन्स क्लब अन्तर्राष्ट्रियले प्रदान गरेको विभिन्न भूमिका कुशलतापूर्वक बहन गरिसकेका लम्सालले थुप्रै आर एलएलआई को-अर्डिनेटर साथै लायन्स अन्तर्राष्ट्रियले नेपालमा गर्ने एफडीआई र एलसीएफआईको लोकल को-अर्डिनेटरको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ।
आफू गभर्नर भएपछि डिष्ट्रिक्टका कार्यक्रमहरू काठमाडौंदेखि महेन्द्रनगर, नेपालगञ्ज र वीरगञ्जसम्म बिस्तार गरेका थिए । लायन्स क्लबको केन्द्रीकृत कार्यक्रमलाई विकेन्द्रीकृत गर्ने कार्यमा उहाँको ठूलो योगदान छ । आफ्नो गभर्नरको कार्यकालमा डिष्ट्रिक्ट ३२५ बी को भवन निर्माण अभियान शुरु गरी निर्माण सम्पन्न गरेर हस्तान्तरण समेत गरेका लम्सालले आफूले लिएको जिम्मेवारी सफलताको साथ सम्पन्न गरिसक्नुभएको छ । पछिल्ला तीन वर्षदेखि एलसीआईएफ एरिया लिडरको जिम्मेवारी सम्हालिरहनु भएका उहाँ अहिले नेपालभरिका लायन्सहरूका लागि उत्प्रेरक शक्तिका रूपमा स्थापित छन्।
लम्सालको सिंगो परिवार नै लायन्समा आवद्वता
लम्सालको सिंगो परिवार नै लायनवादको यात्रामा छ। लम्सालकी जीवन संगीनी लायन इन्दु लम्साल सन् २०१९-२० मा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि वानको डिष्ट्रिक्ट गभर्नर हुनुभएको थियो। उहाँले सन् २०१०-११ मा आफू डिष्ट्रिक्ट गभर्नर हुँदा ६५ वटा नयाँ क्लब स्थापना गरेर त्यसबेला विश्व लायनवादको इतिहासमा नै नयाँ रेकर्ड कायम राख्नुभएको थियो। लायन इन्दु लम्सालले सन् २०१९-२० मा डिष्ट्रिक्ट ३२५ बि वान को डिष्ट्रिक्ट गभर्नर भएको बेला लायन्स अन्तर्राष्ट्रियले प्रदान गर्ने सर्वोच्च अवार्ड एम्बेसडर अफ गुडविल अवार्डबाट सम्मानित हुनुभएको थियो। लायन राजन र इन्दु लम्साल नेपालकै पहिलो ‘पति-पत्नी डिष्ट्रिक्ट गभर्नर’ जोडी हुन्।
राजनीतिमा आस्था
सामाजिक सेवा मात्र होइन, लम्साल नेपालको राजनीति परिवेशबारे नजिकबाट चासो राख्नुहुन्छ। देशमा विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनमा उहाँले आफूलाई सहभागी गराएका छन्। वि.सं. २०३६ सालको जनमत संग्रहतका बेला उहाँ १० वर्षको हुनुहुन्थ्यो। त्यसबेला भएको पञ्चायत विरोधी आन्दोलनको पनि उहाँको मनमस्तिष्कमा ताजै छ। वि.सं. २०४६ सालको जनआन्दोलन होस् या २०६२/६३ को आन्दोलन हरेक परिवर्तनमा लम्सालले आफूलाई समाहित गराएर लोकतन्त्रको वहालीका लागि योगदान गर्नुभएको छ। यद्यपि राजनीतिक पार्टीगत संलग्नता नलिए पनि लोकतन्त्रप्रतिको प्रतिबद्धता उहाँका हरेक काममा झल्किन्छ। आफ्नो जीवनको अत्यन्तै ऊर्जाशील समय समाज सेवा नै खर्चिए। राजनीतिमा उहाँको प्रचुर सम्भावना थियो। यद्यपि व्यवसाय समेतले गर्दा लम्साल राजनीतिक नेतृत्वमा पुग्न सकेनन्। सामाजिक संस्थामा क्रियाशीलभई समाजमा कम अवसर प्राप्त व्यक्तिहरूको सेवामा लाग्ने हुटहुटीले उहाँ लायन्सकै माध्यमबाट आफूलाई एउटा अब्बल नेताको रुपमा परिचित गराउन सफल हुनुभएको छ।
विदेश भ्रमण
सन् २००६ मा उहाँले ट्यूनिसियामा सम्पन्न वरिष्ठ लायन लिडरशिप इन्स्टिच्युटमा सहभागिता जनाएपछि अन्तर्राष्ट्रिय अनुभवपछि नेतृत्व क्षमतामा थप निखार ल्यायो। समाजसेवामा समर्पित लायन राजन लम्सालले अमेरिका, फ्रान्स, सिंगापुर, जापान, हङकङ, मलेसिया, थाइलेण्ड, श्रीलंका, भारत, ट्युनिसिया, संयक्त अरब इमिरेटस्, चीन, मकाउ, दक्षिण कोरिया, अष्ट्रेलिया, लेवनान, इटली, जर्मनी, स्वीजरल्याण्ड, क्यानाडा र बंगलादेश लगायतका विभिन्न राष्ट्रको भ्रमण समेत गरिसक्नु भएको छ। भ्रमण क्रममा त्यहाँका सामाजिक, प्रशासनिक र लायन परियोजनाको अध्ययन गरेका छन्।
लायन राजन लम्सालको जीवन कुनै फिल्मी कथाभन्दा कम छैन। कठीन संघर्ष, गहिरो प्रतिबद्धता र स्पष्ट जीवन दृष्टिकोणका साथ उहाँले समाज, संस्कृति, शिक्षा र नेतृत्वमा जे जति गर्दै आउनुभएको छ, त्यो आजका लागि मात्र होइन, भावी पुस्ताका लागि पनि प्रेरणाको स्रा]t हो। लम्साल लायन मात्रै होइनन्, उहाँ नेपाली समाज सेवाको गतिशील अनुहार, मौन क्रान्तिका योद्धा र निष्ठाको जीवन पाठ हुन्।
प्रतिक्रिया