अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भुँइमान्छेका योगदान बिर्सेका छैनौं: प्रदीप ज्ञवाली

भुँइमान्छेका योगदान बिर्सेका छैनौं: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलनमा भूमिका खेल्ने भुइँमान्छेहरूको योगदानको स्मरण गर्दै राज्यको नीति र नेतृत्वको भावनाले उहाँहरूलाई सधैँ नजिक राख्ने बताउनुभएको छ।

लेखक डा. बिन्दा पाण्डेको पुस्तक ‘आश्रय, सुरक्षा सम्पर्कको सारथी: भुँइमान्छे’ माथिको परिचर्चामा एमाले उपमहासचिव ज्ञवालीले भुँइमान्छेको जीवनस्तर उकास्न राज्यका नीतिसँगै पार्टीले विभिन्न ठाउँमा उहाँहरूबारे अभिलेख राख्ने, सम्मान र स्मरण गर्नुपर्नेमा जोड दिनुभयो।

डा. पोण्डेको पुस्तकमाथि समीक्षा प्रस्तुत गर्दै नेता ज्ञवालीले पार्टी निर्माणको जगमा भुइँमान्छेको भूमिका उल्लेख गर्नुभयो । उहाँले भूमिगत आन्दोलनको आश्रयस्थलमा आफ्नो अनुभव सुनाउँदै बच्चाको गाँस काटेर पार्टीलाई सहयोग गर्न भुँइमान्छेहरूको स्मरण गर्नुभयो।

राष्ट्रियसभा सदस्य डा. अञ्जान शाक्यले युवा पुस्तासम्म कम्युनिष्ट आन्दोलन र यसमा भूमिका खेल्ने भुइँमान्छेबारे जानकारी दिन यस पुस्तकले मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभय । राष्ट्रियसभाका अर्का सदस्य भगवती न्यौपानेले आगामी पुस्तालाई राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको इतिहासलाई बुझाउन पुस्तकले मद्दत गर्ने राय व्यक्त गर्नुभयो ।

लेखक पाण्डेले कम्युनिष्ट आन्दोलनमा भूमिका खेल्ने भुइँमान्छेहरूको योगदानलाई राजनीतिक इतिहासका कुनै दस्ताबेजमा समेटिन नसक्नु दुखद् भएको बताउनुभयो। तत्कालीन निरङ्कुशताविरूद्ध क्रान्तिका लागि निस्किएका नेतृत्वहरूलाई आफ्नो ज्यानको बाजी थापेर जोगाउने सर्वसाधारण भुइँमान्छेको योगदानको स्मरण यस पुस्तकले गर्ने उहाँले बताउनुभयो। ‘आन्दोलन सत्तामा रूपान्तरण भयो। त्यो समयमा भुँइमान्छेसँग नेतृत्वले गरेको सङ्कल्प बिर्सेको त हैन भन्ने प्रश्न गर्नुहुन्छ। हामीले त्यो प्रश्नको जवाफ खोज्नुपर्छ, लेखक पाण्डेले भन्नुभयो।

बैठक र भेला गर्ने स्थान, भूमिगत नेता–कार्यकर्ताका लागि आश्रयस्थल मात्र नभएर लाउने, खाने र सुरक्षाको समेत जिम्मेवारी निर्वाह गरेका धेरै आश्रयदातामध्ये केही प्रतिनिधिको कथाका पात्रहरूबारे चर्चा गरिएको थियो । साथै, नेपाली राजनीतिक आन्दोलनमा आमाहरूको योगदानलाई समेत पुस्तकले समेटेको छ ।

राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले भुँइमान्छेको नेतृत्वप्रतिको विश्वासलाई मर्न नदिन नेतृत्व सधैँ सजग र इमान्दार हुनुपर्नेमा जोड दिनुभयो । “यस पुस्तकमा समावेश भएका पात्रजस्तै म स्वयंम् पनि भुइमान्छेको छोरा हो । हाम्रा आगामी पुस्ताले पार्टी निर्माणको इतिहास बुझ्न पनि यो पुस्तक पढ्नैपर्छ” उहाँले भन्नुभयो।

कार्यक्रममा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष सङ्गीता खड्का, संविधानसभा सदस्य कल्पना धमलालगायत राजनीतिक नेतृत्व एवं पत्रकारहरूको सहभागिता रहेको थियो ।

विषम परिस्थितिमा जोखिम मोलेर आममान्छेले आश्रय (खाने, लाउने र बस्ने), सुरक्षा (पार्टी र जीवन रक्षाको प्रत्याभूति) का साथै सम्पर्क (राजनीतिक सम्पर्क र सम्बन्ध स्थापना) को जिम्मेवारी लिएर टोल र बस्तीहरूमा भूमिगत नेताका साथी बनेका भुँइमान्छेले कम्युनिष्ट नेतृत्वलाई दिशा, आन्दोलनलाई आधार  र परिवर्तनलाई बल दिएका योगदानको स्मरण गरिएको थियो।