काठमाडौं-नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले प्रमुख प्रतिपक्ष दलले जनतामा भ्रम छर्ने काम गरेको आरोप लगाउनु भएको छ।
बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले लोकतन्त्रमा जे गरे पनि हुन्छ भन्ने किसिमले अराजक भएर लोकतन्त्रको अभ्यास गर्ने मान्यता विकसित भएको जिकिर गर्नुभयो।
जनताको प्रतिनिधि भएर जनतालाई भ्रम छर्ने किसिमको भूमिका निभाउने काम प्रमुख प्रतिपक्षले गरेको भन्दै आपत्ति जनाउनु भयो। उहाँले प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहालले संविधानमा माओवादी र प्रचण्ड मात्रै देख्ने गरेकाले राजनीतिक दलहरुले नै संविधान च्यात्न थाले भनेर भ्रम फिँजाउने गर्नुभएको बताउनु भयो।
सांसद रिजालले भन्नुभयो, ‘लोकतन्त्र जे गरे पनि हुने, एक किसिमले अराजक भएर लोकतन्त्रको अभ्यास गर्दा पनि हुने मान्यताहरु हाम्रो डेभलवप भएको छ। जनताको प्रतिनिधि भएर जनतालाई भ्रम छर्ने किसिमको भुमिका निभाउने गरेका छौँ। त्यो सन्देश जनतालाई दिने गरेका छौँ। प्रमुख प्रतिपक्ष दलको नेताले संविधानलाई देखाएर के भन्नुहुन्छ भने, अब यो संविधान त च्यात्न थाले सबै दलहरुले। किनभने यहाँ जता हेर्दा पनि प्रचण्ड र माओवादी मात्रै देख्छन्, यो च्यात्न थालेका छन् भन्ने गलत सन्देश दिनुहुन्छ, त्यो बिल्कुल होइन। २०६४ सालमा माओवादी जताततै थियो, त्यो बेलामा संविधान मानेको भए मान्न सकिन्थ्यो, २०७० सालमा त माओवादी कतै कतै मात्रै भयो, संविधानमा पनि कतै कतै छ । यहाँ सबै दल छन्, जनताका प्रतिनिधि सबै छन्।’
सांसद रिजालले जनतामा चिन्ता पैदा हुने सन्देश नदिन प्रतिपक्ष दलहरुको ध्यानाकर्षण गराउनु भयो ।
प्रतिक्रिया