अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौँमा ‘सगरमाथा संवाद’ सुरु, प्रधानमन्त्रीबाट उद्घाटन

काठमाडौँमा ‘सगरमाथा संवाद’ सुरु, प्रधानमन्त्रीबाट उद्घाटन


काठमाडौं-‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौँमा आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गर्नुभएको हो।

जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ आयोजित ‘सगरमाथा संवाद’मा १२ देशका उच्च तहको प्रतिनिधिमण्डल सहभागी छन्। 

समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा .आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गर्नुभयो।

समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी छ। आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु सञ्चालन हुनेछन्। 

काठमाडौँमा शुक्रबारदेखि सुरु भएको सगरमाथा संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ।

उद्घाटनपछि ‘प्लेनरी सेसन’ आयोजना हुने छ। यस सत्रमा सहभागी सबै राष्ट्र र अन्तरराष्ट्रिय एवं क्षेत्रीय संगठनबाट प्रस्तुति हुनेछ।

आजै छुट्टाछुट्टै विषयका समानान्तर सत्रको सुरुआत हुने छ। सबै सत्र शनिबार ४ः३० बजेसम्म सम्पन्न गर्ने कार्यसूची छ।

राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढंगको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ।

सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिमस्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी संगठन एवं संस्थाले भाग लिएका छन्। 

संवाद आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको थियो।