काठमाडौं-नेकपा एमालेका सांसद अच्यूत प्रसाद मैनालीले सबल सक्षम नेतृत्व त्रिभुवन विश्वविद्यालयको आजको आवश्यकता भएको बताउनु भएको छ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद मैनालीले यस्तो बताउनुभएको हो।
सांसद मैनालीले त्रिभुवन विश्वविद्यालय देशको गौरवपूर्ण इतिहास बोकेको शैक्षिक केन्द्र भएको बताउनुभयो। सांसद मैनालीले भन्नुभयो, ‘बौद्धिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएको ज्ञानको सभ्यता, संस्कृति र समृदीको केन्द्र हो भन्नेमा दुई मत छैन।’
सांसद मैनालीले गुणस्तरीय शिक्षा दिन सके स्वदेशमा मात्र नभई विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताउनुभयो। उहाँले भन्नुभयो, ‘लाखौ युवाहारुको भविष्य उज्वल बनाउदै युवाहरुको प्रतिभा र सृजनाको प्रस्फुटन गराउदै मुलुकको समृदीमा केन्द्रित गराउने, अनुसन्धानमूलक, समय सापेक्ष, प्राविधिक ज्ञान र गुणस्तरीय शिक्षा दिन सके स्वदेशमा मात्र नभई बिदेशी विद्यार्थीलाइ समेत आकर्षित गर्न सकिन्छ, विदेशी मुद्रा आर्जन गर्न सकिन्छ।’
सांसद मैनालीले हरेक दिन लाखौ विद्यार्थीहरु विदेशिएको पनि बताउनुभयो । उहाँले विश्वविद्यालयको गुणस्तरीयतामा ह्रास आएको बताउनुभयो।
सांसद मैनालीले भन्नुभयो, ‘आज लाखौ विद्यार्थीहरु विदेशिएका छन्। विश्वविद्यालयको गुणस्तरीयतामा ह्रास आएको छ। नेतृत्व विहीन भएको छ। परीक्षा समयमा हुँदैन । रिजल्ट ४०० दिन सम्म कुर्नुपर्ने, समयमा शैक्षिक क्यालेन्डर निर्माण नहुने अवस्था छ। यद्यपी हालका बहालवाला पदाधिकरीलाई म धन्यवाद दिन चाहन्छु। सुधार उन्मुख अवस्थामा गएको छ त्यसैले सबल सक्षम नेत्तृत्व त्रिभुवन विश्वविद्यालयको आजको आवश्यकता हो ।’
प्रतिक्रिया