दोलखा-नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले कुनै पनि राजनीतिक दललाई अघि बढ्न विचार, सिद्धान्त र स्पष्ट दृष्टिकोण आवश्यक पर्ने बताउनुभएको छ।
मदन-आश्रित स्मृति दिवसको अवसरमा शनिबार दोलखाको चरिकोटमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले विचार, सिद्धान्त र स्पष्ट दृष्टिकोण बिना सही गन्तव्यमा नपुगिने बताउनुभयो। ‘हामीसँग विचार छ, हामीसँग दृष्टिकोण छ, हामीसँग यो मुलुकको सबैभन्दा सक्षम नेतृत्व छ’, नेता गुरुङले भन्नुभयो ।
नेता गुरुङले केपी ओली अत्यन्त सक्षम नेता भएको ठोकुवा गर्नुभयो। त्यसैले एमालेका नेता, कार्यकर्ता विचलित हुनुपर्ने स्थिति नरहेको उहाँले स्पष्ट पार्नुभयो।
नेता गुरुङले पार्टीमा विवाद भएको हो कि, नेतृत्व के हुने हो भन्ने अलमलमा नपर्न पनि आग्रह गर्नुभयो। ‘मिसन २०८४ मा हाम्रो पार्टी नेकपा एमालेबाट प्रधानमन्त्रीका उम्मेदवार पनि केपी शर्मा ओली हो, अब आउने पार्टी महाधिवेशनको उम्मेदवार पनि केपी शर्मा ओली नै हो, पार्टीमा को, कहाँ, के भन्ने भ्रममा नरही हामी मिसन २०८४ मा लाग्नु पर्छ’, उहाँले भन्नुभयो।
गुरुङले यही विचार, दृष्टिकोण र नेतृत्वलाई लिएर पार्टी काममा अघि बढ्नु पर्नेमा जोड दिनुभयो । मिसन २०८४ लाई सफल बनाउन सबै एकजुट भएर लाग्नु पर्ने उहाँले बताउनुभयो।
प्रतिक्रिया