अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔं: मन्त्री दाहाल

सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔं: मन्त्री दाहाल


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले स्वदेशमै सिमेन्टको खपत बढाउनु पर्नेमा जोड दिनुभएको छ।
२०८२ जेठ ५ गते सोमबार ललितपुरमा आयोजित सिमेन्ट उत्पादक संघको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दाहालले यस्तो जोड दिनुभएको हो।

मन्त्री दाहालले नेपाल सिमेन्टमा पूर्ण रुपमा आत्मनिर्भर भएको भन्दै अब स्वदेशमै खपत बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले कस्टलाई थोरै मार्जिन राखेर धेरै उत्पादन गर्नुपर्ने बताउनु भयो। उहाँले नेपाललाई कनेक्टीभिटीको हिसावले उदाहरणीय देश बनाउने गरी अघि बढिरहेको बताउनु भयो ।

मन्त्री दाहालले चीन र भारतको विकासबाट सिकेर नेपाल अघि बढ्न जरुरी रहेको बताउनु भयो। विकासको दृष्टिले नेपाल पनि कम नरहेको भन्दै पछिल्लो १५ वर्षमा धेरै काम गरेको दाबी गर्नुभयो। सडक सम्बन्धी नीति निर्माणको काममा पनि सरकारले विशेष चासो दिएर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले समस्या पहिचान गरेरअघि बढ्दा काम गर्न सहज हुने बताउनु भयो। 

मन्त्री दाहालले भन्नुभयो, ‘नेपाल सिमेन्टमा पूर्ण रुपले आत्मनिर्भर भयो भनेर अध्यक्षज्युलाई सोधको थिएँ । पूर्ण रुपमा आत्मनिर्भर मात्रै होइन, सिमेन्ट बाहिर पठाउने, बाहिर बेच्ने अवस्थामा पनि पुगेको छ भन्नुभयो । सिमेन्टमा आत्मनिर्भर भइसकेका छौँ भने अब हामीले हाम्रै देशमा यसलाई कसरी लगाउने ? त्यसमा सोच्नपर्छ। जसरी हामी विद्युत उत्पादन गरिरहेका छौँ र देशमै खपत गर्ने कुरा गरिरहेका छौँ। त्यसैगरी सिमेन्ट उत्पादन गरिरहेका छौँ, आत्मनिर्भर भएका छौँ। निर्यात गर्ने अवस्थामा पुगेका छौँ भने यहीँ खपत किन नगर्ने ? कस्टलाई थोरै मार्जिन राखेर धेरै उत्पादन गरौँ। सडकहरुमा व्यापक रुपमा मजबुत सडक बनाऔँ। त्यो ढंगले गर्न सकिन्छ।’

मन्त्री दाहालले अब कंक्रिट प्रविधिमा जानुपर्ने बताउनु भयो ।