विराटनगर-कोशी प्रदेशका सांसद चढेको गाडी दुर्घटनामा परेको छ। झापाबाट विराटनगरतर्फ जाँदै गरेको कानेपोखरी नजिकै गाडी दुर्घटना भएको हो।
अल्फाबेट बीएइ १४०६ नम्बरको सांसदहरू चढेको गाडीलाई विराटनगर आउँदै गरेको बा ५ च ३५२० नम्बरको राताे कारले सांसद सवार गाडीलाई ठक्कर दिएको हाे। सांसदहरू कोसी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए।
गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।
दुर्घटनामा केही सांसदहरू सामान्य घाइते भएका छन्। कोशी प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रममा सहभागी हुन सांसदहरू प्रदेशसभातर्फ आउने क्रममा गाडी दुर्घटना भएको जानकारी आएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बिदुर लिङथेपले जानकारी दिनुभयो।
सांसद मैया श्रेष्ठले आफूहरूलाई चोटपटक नलागेको तर गाडीमा भने क्षति पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरै गाडीमा आउँदै थियौ तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो। हामी सकुशल छौँ।’
दुर्घटनामा परेको कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सांसदहरूलाई प्रदेशसभातर्फ ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रतिक्रिया