काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर आज नहुने भएको छ। प्रधानमन्त्री ओली अस्वस्थ भएपछि संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।
संसद सचिवालयले आज प्रधानमन्त्रीसँग सांसदहरू प्रश्नोत्तरको कार्यसूची राखेको थियो। तर प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यका कारण संसदमा उपस्थित हुन नसक्ने जानकारी दिएको बर्तौलाले बताउनुभयो।
सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू केही अस्वस्थ रहेको भन्दै आफ्नो सम्बोधन छोट्याउनु भएको थियो। उहाँलाई रुघाखोकीको समस्या देखिएको बताइएको छ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।
प्रत्येक महिना सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम अन्तरगत आजको बैठकमा कार्यसूची राखिएको थियो। आज विहान ११ बजेका लागि संसद बैठक आह्वान भएको छ।
प्रतिक्रिया