काठमाडौँ-नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले निर्वाचित जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास कुनै पनि बहानामा उचित र सही नहुने बताउनु भएको छ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले सांसद विकास कोषको रकमबारे अनावश्यक प्रचार भइरहेको भन्दै सांसदहरूलाई कोष नभएर योजना सिफारिस गर्ने अधिकार रहेको बताउनु भयो। सांसद थापाले भन्नुभयो, ‘यसबाट व्यवस्था विरोधी,अस्थिरता र अराजकतावादीहरू हौसिने तथा अनावश्यक रूपमा आम नागरिक र आम मतदाता थप असन्तुष्ट र निराश हुनेछन्।’
सांसद थापाले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी अटुट र अन्योन्याश्रित जोड्नु अनिवार्य रहेको पनि बताउनु भयो।
‘१६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदहरू आ-आफ्नो क्षेत्र र जिल्लाको विकासमा सक्रिय योगदान दिने पार्टीको स्पष्ट घोषणापत्र र प्रतिविद्धतासहित मतदाताको विश्वास जितेर निर्वाचित भएको वस्तुगत अवस्थालाई हेक्का राख्नुपर्छ’, थापाले भन्नुभयो, ‘सांसदहरूलाई कोष होइन योजना सिफारिस गर्ने अधिकार दिँदा त्यस विरुद्ध किन बकवास गरिन्छ ? बजेटमा छलफल, बहस र पारित गर्ने संवैधानिक कानुनी अधिकार नै हो।’







प्रतिक्रिया