कपिलवस्तु-कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी पक्राउ परेका छन्। विद्युतीय अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट जेठ १ गते पक्राउ पूर्जी जारी भएका चौधरी मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको हो।
बलात्कृत युवती तथा परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। फरार सूचीमा रहेका अध्यक्ष चौधरी मंगलबार आफै उपस्थित भएका थिए।
चौधरीलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ। आजै म्याद थपका लागि अदालत उपस्थित गराइनेछ।
चौधरी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट २०७९ को निर्वाचनमा शुद्धोधन गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।
चौधरीविरूद्ध यसअघि युवतीमाथि सामूहिक बलात्कार गरेको वडा प्रहरी कार्यालय बुटवलमा गत पुस २० गते जाहेरी परेको थियो। घटना भने गत असोज ५ गतेको हो।
कपिलवस्तु घर भई बुटवल बस्ने ती युवतीको तर्फबाट प्रहरीमा दिएको जाहेरीअनुसार घरबाट पसल गएकी उनलाई सन्तकुमार यादवले अर्धबेहोस बनाएर सिद्धबाबा मन्दिर लगेर औषधि मिसाएको पानी खान दिई अर्धबेहोस बनाएपछि देवीनगरस्थित एउटा घरमा लगी बन्धक बनाएर सामूहिक बलात्कार भएको उल्लेख छ।
जाहेरीमा सन्तकुमार र उनका साथी राजेश्वर चौधरीले बलात्कार गरेको र शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले युवतीलाई बन्धक बनाएको कोठामा गई उनको हात समाएर गालीगलौज गर्ने र यो कुरा कसैलाई भने मारिदिने धम्की दिएको उल्लेख छ।
प्रतिक्रिया