काठमाडौं-नेकपा एमाले सांसद दयालबहादुर शाहीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने गरेको टिप्पणी गर्नुभएको छ।
पूर्वाधार विकास समितिको बुधवारको बैठकमा बोल्दै सांसद शाहीले कर्मचारीलाई आफ्नो रोल मोडल जस्तो बनाएर रुने असर माओवादीमा रहेको टिप्पणी गर्नुभएको हो।
सांसद शाहीले अमेरिकाले त्यत्तिका कर्मचारी र कार्यक्रमहरु हटाउँदा कहीँ पनि बिरोध नहुने तर नेपालमा भने रोई कराइ गर्ने परिस्थिति निर्माण भएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
सांसद शाहीले एउटा कर्मचारी हटाउँदा रुने व्यक्तिहरुले नै कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्ने आवाज उठाइरहेको बताउनुभयो। उहाँले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङको व्यवस्थापकीय क्षमता राम्रो रहेको पनि बताउनुभयो।
सांसद शाहीले भन्नुभयो, ‘केही कुरा के छ भने हल्लाको पछि हामी लागेका छौँ। अमेरिकाले त्यत्तिका कर्मचारी हटायो, त्यत्रा प्रोग्राम खारेज गर्यो, त्यहाँ रोइ कराइ छैन। एक कर्मचारी हटाउँदा उनै साथी के भन्छन् भने राष्ट्रपति सिस्टममा जाऔँ । यो सिस्टम खराब भयो भन्छन्। राष्ट्रपतीय प्रणाली आएपछि त डोनाल्ड ट्रम्प भन्दा बलियो राष्ट्रपति हुन्छ हाम्रो । उनै साथीहरु एउटा कर्मचारी हटाउँदा रोइ कराइ छ। कुलमान घिसिङका व्यवस्थापकीय क्षमता राम्रो हो। उहाँले आयव्यय देखाउँदा कुनै तिर्नुपर्ने दायित्व छुटाएर नाफा देखाउनुभएको थियो । अहिलेकोले तिर्नुपर्ने दायित्व देखाएर घाटामा छौँ भन्नुभएको छ । सबैले पढेका छौँ त । हिजो माक्स, महात्मा गान्धी, लेनिन भन्थ्यौँ । अहिले हामी राजनीतिक मान्छेहरु घटेर कालिदासको सानो कमा अड्किएर बसेका छौँ । कर्मचारीलाई ठूलो बनाएर बसेका छौं। कुलमान कुलमान गरेर तीन दिनसम्म रुने बानीको असर पनि कतै कतै छ।’
प्रतिक्रिया