काठमाडौं-नेकपा एमालेका केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले भारत-पाक द्वन्द्व पछि १ नम्बर शक्ति चीन, नेपाललाई असर के ? भनेर एक भिडियो समाजिक सञ्जाल फेसबुकमा राख्नु भएको छ।
उहाँले ‘मनले त भारतले नै जित्नुपर्छ भन्छ तर बुद्धिले मान्दैन । भारतले नेपाललाई गर्दै आएको व्यवहार बुद्धिले सम्झन्छ अनि भारतले हारोस् भनेर कामना गर्छ।’ भन्दै समाजिकक सञ्जाल फेसबुकमा भिडियो राख्नुभएको हो।
भारतले जितोस् कि पाकिस्तानले ? भारतले हारोस् कि पाकिस्तानले ? भारत र पाकिस्तान बीचको हालैको भिडन्तमा धेरैले यस्तो प्रश्न गरेको सुनियो। मलाई पनि कैयन साथीहरूले सोधे।
मेरो एउटा मनले भन्छ, भारतले जित्नुपर्छ। अर्को मनले भन्छ, भारतले हार्नुपर्छ। बुद्धिको एउटा कुनाले भन्छ, पाकिस्तानले जित्नुपर्छ, अर्को कुनाले भन्छ, पाकिस्तानले हार्नुपर्छ।
मनले त भारतले नै जित्नुपर्छ भन्छ तर बुद्धिले मान्दैन। भारतले नेपाललाई गर्दै आएको व्यवहार बुद्धिले सम्झन्छ अनि भारतले हारोस् भनेर कामना गर्छ । मनले एउटा कुरा भन्ने, बुद्धिले अर्को कुरा भन्ने । मन र बुद्धिको द्वन्द्वको समाधान खोज्नै गाह्रो । जब मन र बुद्धिले एक ठाउँ आएर सहमति गर्छ, तब जवाफ पाइन्छ। मैले पाएको जवाफ तपाईँहरूलाई सुनाउँछु।
भारत र पाकिस्तानको भीडन्तमा एउटाले जितोस् भनेर चाहनु र कामना गर्नु नै गलत हो। अर्थात्, यो प्रश्न नै गलत छ। युद्धमा कुनै पक्षले केही समय जित्न सक्छ तर सधैंका लागि सक्दैन। युद्धमा कसैले जित्दैन। केही समयका लागि कुनै शासकले युद्ध जित्न सक्छ तर जनताले चाहिं हार्छ। किनभने युद्धमा मानवताले हार्छ, विकासले हार्छ, समृद्धिले हार्छ, अर्थतन्त्रले हार्छ।
भारत र पाकिस्तान बीच युद्ध नै त भएन तर युद्ध जस्तै खालको सानो भिडन्त भयो, यसलाई लिमिटेड वार भन्न सकिएला। वास्तवमा भारत र पाकिस्तानले तीन दिन तीन रात भिडियो गेम खेले भन्दा पनि हुन्छ। उनीहरूको भिडन्त मलाई त भिडियो गेम जस्तै लाग्यो । धन्न भिडियो गेमवाला युद्ध पूर्ण युद्धमा परिणत भएन।
भारत र पाकिस्तान बीच हालैको द्वन्द्व र त्यसले नेपाल सहित दक्षिण एसियामा पर्ने प्रभाव बारेमा केही बोल्न मन लाग्यो।
धेरै भूमिका नबाँधी म ठाडो ठाडो शब्दमा आफ्ना कुरा राख्छु।
युद्ध या युद्ध सरहको अवस्थामा जे जति घटना हुन्छन्, ती सबैको दीर्घकालीन प्रभाव हुन्छ। दुई देशको द्वन्द्व तीन दिन जति चल्यो तर प्रभाव वर्षौंसम्म हुने देखिन्छ। किनभने दुवै देश फेरि अर्का द्वन्द्वको तयारीमा लागेका छन्। म चाहिँ सबैभन्दा धेरै प्रभाव पर्ने देश नेपाल पनि हुने देख्छु। नेपाललाई पर्ने प्रभाव बारेमा पनि एक छिनपछि चर्चा गर्छु, पहिले यो भिडन्तको केही निर्णायक पक्षमा केही कुरा राख्छु।
भारतलाई के लागेको थियो भने पाकिस्तानलाई सजिलै पराजित गर्न सकिन्छ। भारतमा यस्तै आत्मविश्वास देखिन्थ्यो। इजरायलले हमास र हिजबुल्लाहलाई पेले जसरी पाकिस्तानलाई पेल्ने भारतको आकाङ्क्षा देखिन्थ्यो। यो आकाङ्क्षा वस्तुगत थिएन। यथार्थको धरातलमा टेकिएर गरिएको आशा थिएन।
आक्रमण पहिले भारतले गरेको हो, पाकिस्तानले जवाफ दियो। आक्रमण र प्रत्याक्रमणमा भारतको घटीमा पनि दुई वटा लडाकू विमान सिकार भएको बताइएको छ। लडाईंमा क्षति सामान्य हो तर भारतको राफेल गर्नु चाहिँ सामान्य थिएन। किनभने राफेल फ्रान्सको विमान हो र भारतले यसलाई आफ्नो सबैभन्दा ठूलो हतियार मान्दै आएको थियो। उता पाकिस्तान चाहिँ चिनियाँ लडाकू विमान जे टेनमा निर्भर थियो । जे १० ले राफेललाई गिराइदियो। त्यसबाहेक आकाशे द्वन्द्वमा पाकिस्तानले उन्नत चिनियाँ प्रविधि प्रयोग गर्यो। समाचारहरूमा आए अनुसार आकाशमा भारत टिक्नै सकेन।
द्वन्द्व भारत र पाकिस्तानको भए पनि यसले युरोप र अमेरिकाको प्रविधि उन्नत कि चिनियाँ प्रविधि उन्नत भन्ने देखाइदियो। अर्का शब्दमा भन्ने हो भने बाहिरबाट हेर्दा भारत र पाकिस्तानको द्वन्द्व थियो, भित्र चाहिँ पश्चिमा प्रविधि र चिनियाँ प्रविधिको द्वन्द्व थियो। अहिलेका लागि चिनियाँ प्रविधि श्रेष्ठ देखियो। मैले तीन दिने द्वन्द्व विश्व इतिहासमा ठूलो पानीढलो या टर्निङ पोइन्ट भएको ठहर गरेको छु। यो तीन दिनको घटनामा भारतको हात अलि तल पर्यो होला तर विजयी चाहिँ चीन भयो। भारत पाकिस्तान भीडन्तपछि चीन स्पष्ट रुपमा विश्वको मुख्य सामरिक शक्ति बन्यो भन्ने मलाई लाग्छ । यो कुरा बुझ्न म स्वेज नहरको इतिहासको चर्चा गर्छु।
दोस्रो विश्वयुद्ध अघि बेलायत विश्व शक्ति थियो। दोस्रो विश्वयुद्धपछि बेलायतको हैसियत अमेरिकाले खोस्यो। विश्व शक्ति अमेरिका भए पनि आम रूपमा बेलायतलाई नै मुख्य शक्ति मानिन्थ्यो। सन् १९५६ मा भएको स्वेज नहर विवाद पछि भने अमेरिका नै विश्व शक्ति हो भन्ने प्रमाणित पनि भयो र सबैले अमेरिकालाई नम्बर वन शक्ति मान्न कर लाग्यो। इजिप्टको स्वेज नहरले मेडिटेरियन सी र रेड सीलाई जोड्छ। यो नहर बेलायतको नियन्त्रणमा थियो। १९५६ मा इजिप्टका राष्ट्रपति अब्देल नासिरले स्वेज नहर बेलायतको नियन्त्रणबाट खोसेर राष्ट्रियकरण गरिदिए। नहर पुन नियन्त्रण गर्न बेलायत र फ्रान्सले इज्रायललाई अगाडि सारेर इजिप्टमाथि आक्रमण गरे। इजिप्टमाथिको आक्रमणको विरोध अमेरिका र सोभियत संघले गरे। बेलायत र फ्रान्सको केही लागेन। उनीहरूले नहरमा इजिप्टको अधिकार स्वीकार गर्नुपर्यो । सो घटनापछि बेलायत औपचारिक रूपमै विश्वको नम्बर एक शक्ति रहेन । नम्बर एक शक्ति अमेरिका र साथमा सोभियत सङ्घ स्थापित भए।
स्वेज नहरको घटनाजस्तै मानेको छु मैले भारत र पाकिस्तानको तीन दिने द्वन्द्वलाई। अहिलेसम्म चीनलाई आर्थिक महाशक्ति मात्र मानिन्थ्यो, सामरिक महाशक्तिका रूपमा सबैले स्वीकारेका थिएनन्। तीन दिने द्वन्द्वपछि चीनको सामरिक श्रेष्ठता स्थापित भएको छ। लडाकू विमानका साथै आकाशे युद्धमा चाहिने मिसाइल सिस्टम, लेजर बम, अरूको विमान तथा उपरकणको सिग्नल जाम गरिदिने प्रविधि आदिमा चिनियाँ प्रविधि आश्यर्चजनक देखियो भनेर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले भनिरहेका छन्। युरोप अमेरिकाले पाँचौं पुस्ताको फाइटर प्लेन बनाउँदा चीनले छैठौं सातौं पुस्ताको फाइटर बनाइसकेको पनि समाचार आइरहेको छ।
चीनले विज्ञान प्रविधिमा गरेको चमत्कारिक विकास हामीले दैनिक जीवनमा प्रयोग गर्ने सामानमा मात्र होइन, अत्याधुनिक हतियारमा पनि देखिन थालेको छ। विगतमा जोसँग धेरै सेना हुन्थ्यो उही शक्तिशाली हुन्थ्यो। युग बदलियो, जसले प्रविधिमा जित्छ, बाँकी सबै क्षेत्रमा जित्छ। विज्ञान प्रविधिमा चीनले हासिल गरेको श्रेष्ठता उसको सामरिक शक्तिमा पनि रूपान्तरण हुन थालेको छ। भारत पाकिस्तान भिडन्तबाट यो कुरा प्रस्ट भयो। जसरी स्वेज नहर प्रकरणपछि अमेरिका नम्बर एक शक्ति बन्यो त्यसैगरी भारत पाकिस्तान भिडन्तपछि चीन नै नम्बर एक शक्ति भन्न सकिने अवस्था आएको छ। विश्व राजनीतिमा यो एक महान् र युगान्तकारी परिवर्तन हो।
सबैभन्दा चिन्तालाग्दो असर चाहिँ के हो भने अब विश्वमा फेरि एक पटक हतियारको होडबाजी डरलाग्दो सँग बढ्ने छ। एकातिर विश्वमा करोडौँ मानिसले पेटभरी खान पाइरहेका छैनन् अर्कातिर हतियारमा ठूलो रकम खर्च भइरहेको छ। आगामी दिनमा हतियारमा खर्च झन् बढ्ने देखिन्छ। झन् भारत र पाकिस्तान भनेका विश्वका सबैभन्दा धेरै गरिब भएका देशमध्येका हुन्, जनतालाई भोको पेट राखेर यी दुई देश हतियारको होडमा लागेका छन्।
आगामी दिनमा हतियारमा खर्च झन् बढ्ने देखिन्छ। झन् भारत र पाकिस्तान भनेका विश्वका सबैभन्दा धेरै गरिब भएका देशमध्येका हुन्, जनतालाई भोको पेट राखेर यी दुई देश हतियारको होडमा लागेका छन्।
अब म नेपाललाई पर्ने असरका बारेमा चर्चा गर्छु।
भारत-पाकिस्तान युद्ध भएमा नेपाली रगत पनि बग्छ, भारतीय सेनामा हजारौं नेपाली छन्। यो पक्षले हरेक नेपालीको मन मुटु पोल्नु स्वाभाविक हो।
पाकिस्तानलाई आइसोलेटेड बनाउने अर्थात् एक्ल्याउने भारतीय नीतिका कारण सार्क अगाडि बढ्न सकेन। पाकिस्तानलाई आइसोलेटेड बनाउने नीतिले कुनै काम गरेन भन्ने हालैको तनावको अवधिमा पनि देखियो। पाकिस्तानलाई आइसोलेटेड बनाउने नीति त्यागेर सँगै हिँडाएर ठेगान लगाउने नीति अब भारतले लिन्छ त ? यसमा शङ्कै छ। पाकिस्तानलाई आइसोलेटेड बनाउने नीतिलाई निरन्तरता दिएमा सार्क अझै पनि मृत प्राय भएर रहनेछ। भारत भित्रको केही पक्षले त सार्क विघटनको कुरा समेत उठाएका छन्। ठन्डा दिमागले भारतले नै सोचोस्, सार्क विघटन गर्दा केही दिन भारतलाई मजा आउला तर दीर्घकालीन रूपमा भारतलाई समेत क्षति नै हुनेछ।
विरोधी या प्रतिस्पर्धीसँग सबै सम्बन्ध विच्छेद गर्ने भारतीय नीति देखिन्छ। पाकिस्तानसँग भारतले सबै प्रकारको सम्बन्ध विच्छेद गरिरहेको छ। उता चीनसँग पनि त्यसरी नै सम्बन्धका प्वालहरू समेत बन्द गरिरहेको छ। विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको चीन र भारत बीच सम्बन्ध नहुनु भनेको विश्वलाई नै क्षति हो। आफ्नो प्रतिस्पर्धी तथा सम्बन्ध नराम्रो भएको देशसँग अरूले पनि सम्बन्ध नराखोस् भन्ने भारतीय नीति अपरिपक्व छ। जस्तो कि चीन र पाकिस्तानसँग नेपालले पनि सबै प्रकारको सम्बन्ध विच्छेद गरोस् भन्ने भारतीय नीति देखिन्छ। नेपालमा चिनियाँ लगानी आउन दिन हुन्न भन्ने भारतीय नीतिका कारण नेपाललाई असर परेको छ। चीनबाट भारतले वर्षेनी सय अर्ब डलर भन्दा धेरैको सामान आयात गर्छ तर नेपालमा चिनियाँको लगानी र संलग्नता भएको कुनै पनि उत्पादन नकिन्ने भारतीय नीति छ। कतिसम्म भने चिनियाँले काम गरेको आयोजनाबाट विद्युत् समेत नकिन्ने भारतीय नीति हास्यास्पद छ।
भारतको विरोधीलाई नेपालले पनि विरोधी मानिदिनुपर्ने खालको दबाब स्वीकार्य हुन सक्दैन। भारतको हित र सुरक्षामा आँच आउने कुनै काम नेपालले गर्दैन भन्ने इतिहासले प्रमाणित गरिसकेको छ। भारतको चीन र पाकिस्तानसँग साना ठूला धेरै वटा युद्ध भइसकेको छ। नेपालले कसैको पक्ष लिएन र भारतको अहित हुने काम पनि गरेन।
अन्त्यमा म के भन्छु भने नेपालको एकातिर शक्तिशाली भारत छ भने अर्कातिर विश्वको नम्बर एक शक्ति चीन छ। हामी कसैको पक्ष र विपक्षमा लाग्दैनौँ। पाकिस्तानले चिनियाँ हतियार भित्रायो, नेपालले चिनियाँ हतियार भित्राउँदैन, नेपालले चीनबाट विकास र प्रविधि भित्राउन चाहेको छ, समृद्धि भित्राउन चाहेको छ। भारत र चीनको द्वन्द्वको विन्दु होइन मिलन विन्दु बन्ने नेपालको चाहना हो। भारत, चीन, पाकिस्तान लगायत सबै देशले यो नेपाली आवाज बुझ्न जरुरी छ।
प्रतिक्रिया