अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राजावादीको आन्दोलनमाथि सरकारले प्रतिबन्ध लगाउन सक्छ: सञ्चारमन्त्री गुरुङ

राजावादीको आन्दोलनमाथि सरकारले प्रतिबन्ध लगाउन सक्छ: सञ्चारमन्त्री गुरुङ


काठमाडौँ-सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले राजावादीहरूको आन्दोलनलाई प्रतिबन्ध लगाउने अधिकार सरकारलाई रहेको बताउनुभएको छ।

बिहीबार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले यस्तो बताउनुभएको हो। 

राजतन्त्र पुनः स्थापना गर्ने कुरा संविधान विरोधी काम भएको उल्लेख गर्नुभयो। अहिलेसम्म सरकारले उदारतापूर्वक संविधानको विरोध, तथापि लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेहरूलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको बताउनुभयो। आन्दोलन गर्न दिने कुरा सरकारको कायरता नभई उदारता भएको र कमजोरी नठान्न चेतावनी दिनुभयो। संविधान, जनता विरोधी गतिविधि गरिराख्नेलाई सधैँ छुट दिन नसकिने बताउनु भयो। 

उहाँले भन्नुभयो, ‘संविधानको विरोध गर्नेहरुलाई पनि स्थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्नेहरुलाई पनि र यो शासन प्रणाली उल्ट्याउन चाहनेहरुलाई पनि हामीले सभा संगठन गर्ने, बोल्ने अधिकार छुट दिएकै छ। त्यो हाम्रो कायरता होइन। हाम्रो कमजोरी होइन। हामी डराएर गरेको होइन। त्यसरी दिँदा उनीहरुले हामीलाई कमजोर नठाने हुन्छ। यो त हामीले उदारतापूर्वक अभ्यास गरुन् न के फरक पर्छ। भनेर छुट दिएको कुरा हो। सधैँ यस्तो संविधान, जनता, व्यवस्था विरोधी क्रियाकलाप गरिराख्यो भने त्यो चिज सधैँ सहेर बस्छौँ भनेर हामी भन्न सक्दैनौँ। सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन। त्यसको यथोचित प्रतिवाद हुन्छ सरकारको तर्फबाट। तर अहिले हामी सरकारको सबै गतिविधिलाई छोडिरहेका छौं। त्यो गतिविधिले कस्तो रुप लिन्छ, त्यसको आधारमा प्रतिक्रिया हुन्छ। यत्तिका धेरै मान्छेले रगत पसिना बगाएर, दुःख गरेर प्राप्त गरेको यो गणतन्त्रको रक्षा गर्नु हामी सबैको कर्तव्य हो। त्यो आन्दोलन गर्ने भन्नेकुरालाई आजका दिनसम्म प्रतिवन्ध लगाएका छैनौँ। प्रतिवन्ध  पनि लगाउनसक्ने छुट संवैधानिक अधिकार, कानूनी अधिकार सरकारलाई छ।’

मन्त्री गुरुङले राजावादीहरुको आन्दोलनको गतिविधिले कस्तो रुप लिन्छ ? त्यहीअनुसार सरकार अघि बढ्ने बताउनुभयो।