अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेनिकट राष्ट्रिय युवा सङ्घको १०औं अधिवेशन भोलिदेखि, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

एमालेनिकट राष्ट्रिय युवा सङ्घको १०औं अधिवेशन भोलिदेखि, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

अध्यक्षमा को-को छन् आकांक्षी ?


काठमाडौं-नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको १०औं अधिवेशन २०८२ जेठ ९ गतेदेखि ११ सम्म पोखरामा हुँदैछ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले युवा संघको १०औं अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र प्रतिनिधिहरू पोखरामा आउने क्रम पनि सुरू भइसकेको राष्ट्रिय युवा संघ नेपालका महासचिव सुमन पुरीले जानकारी दिनुभयो। महाधिवेशनमा १ हजार ७९२ जना प्रतिनिधि सहभागी हुने महासचिव पुरीले बताउनुभयो। उहाँले विभिन्न पार्टीका युवा संघ/संगठन, अन्य कमिटी परित्याग गरी राष्ट्रिय युवा संघमा आएकाहरूलाई पनि ध्यानमा राखेर प्रतिनिधि संख्या केही बढाउने समझदारी भएको बताउनुभयो।

देशभरबाट १ हजार ८३४ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने महासचिव पुरीले बताउनुभयो। युवा संघको महाधिवेशनबाट एक जना अध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र चार जना सचिवसहित १५१ सदस्यीय कमिटी निर्वाचित गर्ने छ।

अध्यक्षमा को-को छन् आकांक्षी ?

भावी नेतृत्वको लागि पाँच जना आकांक्षी देखिएका छन्। हालका अध्यक्ष क्षीजित थेबे, उपाध्यक्षहरू कृष्णहरी केसी, प्रकाश गौतम, महाराज गुरुङ र महासचिव सुमन पुरी भावी नेतृत्वको दौडमा छन् ।

त्यस्तै महासचिवमा खेम शर्मा, कुबेर अधिकारी, विनय शाह, राजन थापा, महेश चौलागाईं, निरोज पौडेल लगायतको नाम चर्चामा छ।

परिवर्तित नीतिअनुसार युवा संघमा दुई जना उपाध्यक्ष हुने छन्। जसमा एक जना महिला अनिवार्य गरिएको छ। महिला उपाध्यक्षमा शारदा पछाईं, नीशा लिम्बू, रेशु तामाङ, अनुपमा राईले आकांक्षा राखेका छन्। खुलातर्फ बलराम बेलबासे, राजन थापा, राकेश राई लगायतको चर्चा  छ।

२०८२ फागुन १८ गते बसेको एमाले सचिवालय बैठकले जनसंगठनहरूमा पदाधिकारी संख्या ९ मा सीमित गर्ने निर्णय गरेको थियो। उक्त निर्देशनअनुसार युवा संघलगायत जनसंगठनहरूमा एक अध्यक्ष, महिलासहित दुई उपाध्यक्ष, एक महासचिव, एक उमहासचिव र चार सचिव राख्न पाइने छ। जसमा विदेश सचिव, संगठन सचिव, प्रचार सचिव, कोष सचिव या कोषाध्यक्षको प्रबन्ध गर्न सकिने एमालेले बताएको छ।