काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताउनु भएको छ।
आज कास्कीको पोखरामा आयोजित नेकपा (एमाले) निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कने सपना कहिल्यै पूरा नहुने बताउनु भएको हो।

राजावादी पार्टी र संघसंस्थाहरूले १५ जेठदेखि गर्ने भनेको आन्दोलनलाई कटाक्ष गर्दै प्रधानमन्त्री ओली सो टिप्पणी गर्नुभयो ।
‘नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसक्यो। अर्को संविधान बनिसक्यो। संसद छ। राष्ट्रपति छ । न्यायालय छ। लोकतान्त्रिक व्यवस्था छ। र, हामी छौं,’ प्रधानमन्त्री ओली भन्नुभयो, ‘जसले जंगलमा घुमेर जथाभावी जसलाई पायो त्यसलाई समाउँदै, पछार्दै, मार्दै खाँदै गरेको राजतन्त्रलाई समातेर खोरमा हालेर फेरि खोरबाट पनि निकालेर मुन्ट्याएर फालिदएका छौं । हामी छँदैछौं यस देशमा। फेरि राजतन्त्र ल्याउँदैछौं भन्ने सपना देख्नेहरू पनि छन्।’
प्रधानमन्त्री ओलीले १५ जेठमा राजालाई सिंहासनमा राख्ने भन्दै राजावादीहरूले गरेको प्रचार प्रति पनि कटाक्ष गर्नुभयो।


प्रतिक्रिया