काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधिन फ्लाईओभरबाट जेठ महिनाको अन्त्य सम्ममा पूरा हुने बताउनु भएको छ। जेठ भरिमा पूरा गरी लगत्तै फ्लाईओभरबाट सवारी साधन सञ्चालन हुने बताउनु भयो।
आइतबार बिहान फ्लाईओभर निर्माण कार्यको स्थलगत निरीक्षणका क्रममा उहाँले निर्माणका बाँकि कामहरु चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिनुभयो। ‘अब पनि ढिलाई गर्ने छुट छैन’ मन्त्री दाहालले भन्नुभयो, ‘परिस्थिति बाहिरको प्राकृतिक विपत्ती नआएमा जेठको अन्त्य सम्ममा गाडी चल्नु पर्छ। यो एउटा प्रतिक्षाको आयोजना पनि हो ।’ फ्लाई ओभर अन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकाष्ट ग्रिडर पुल सहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भएको हो । फ्लाई ओभरमा ट्राफिक लाईट जडानको कार्य पनि हुने छ।

अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केहि प्राविधिक समस्या देखिएका समस्या भएको र त्यो समस्या समाधान गरि सकेको बताउनुभयो । यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाई ओभर महत्वपूर्ण ठानिएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन लागि परेको बताउनुभयो ।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप बराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ भने हाल आवश्यक भागमा कालोपत्रेको काम भई रहेको छ । आशिष समानान्तर रेलिगेर जेभी काठमाडौले फ्लाई ओभर निर्माणको काम गरि रहेको छ । १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण शुरु भएको फ्लाई ओभर शुरु ठेक्का सम्झौता बमोजिम २०८० फागुन ११ मा सम्पन्न हुनु पर्ने थियो । तर निर्धारित समयमा पूरा नभए पछि म्याद थप भई त्यसको निर्माण कार्य अघि बढेको हो ।
प्रतिक्रिया