अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको जीवनमा परिवर्तन ल्याउने जनप्रतिनिधिको ध्यान केन्द्रित हुनुपर्छ: शंकर पोखरेल 

जनताको जीवनमा परिवर्तन ल्याउने जनप्रतिनिधिको ध्यान केन्द्रित हुनुपर्छ: शंकर पोखरेल 


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनप्रतिनिधिले जनताका साना-साना आवश्यकता पूरा गर्ने कुरामा ध्यान दिनु पर्ने बताउनु भएको छ।

नेकपा एमालेबाट निर्वाचित वाग्मती प्रदेशका वडाध्यक्षको भेलालाई सोमबार ललितपुरमा सम्बोधन गर्दै पोखरेलले जनप्रतिनिधि जनताको जीवनसँग जोडिनु पर्ने बताउनुभयो।

जनताको जीवनमा परिवर्तन ल्याउने कुरामा जनप्रतिनिधिको ध्यान केन्द्रित हुनु पर्ने उहाँको धारणा छ। ‘जनताको जीवनमा परिवर्तन ल्याउने कुरा अब हाम्रो प्राथमिकतामा पर्नु पर्दछ’, महासचिव पोखरेलले भन्नुभयो।

महासचिव पोखरेलले वडाले गर्ने काम दैनिक जनताले देख्ने काम हुनु पर्ने बताउनुभयो। धेरै खर्च पनि नलाग्ने तर हरेक दिन जनताले याद गर्ने रचनात्मक काम वडाका जनप्रतिनिधिले गर्नुपर्नेमा जोड दिनुभयो। जरा केन्द्रित अभियानको नेतृत्व वडाका जनप्रतिनिधिले गर्न सक्ने महासचिव पोखरेलले बताउनुभयो। यसले मिसन २०८४ को लागि बलियो आधार तयार गर्ने उहाँको धारणा छ ।

आज समाजमा राजवादी, पूर्वपञ्च र मण्डलेहरू जुरमुराएर उठ्न प्रयास गरिरहेका उहाँले बताउनुभयो । उनीहरूका गतिविधि जनताका अधिकारका विरुद्ध छन् भन्ने कुरा जनतालाई बुझाउनु पर्नेमा उहाँले जोड दिनुभयो।

राजतन्त्रको पालामा नेपाली जनताले भोगेको कुरा थाहा नभएका नयाँ पुस्ता अहिले केही बरालिएका उहाँले बताउनुभयो । नयाँ पुस्तालाई राजतन्त्रले दिएको दुःख सास्ती त्यो भोगेका पुस्ताले बुझाउन सक्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

पूर्वपञ्च र मण्डलेहरूले ठुलो पैसा खर्च गरेर गणतन्त्रका विरुद्ध सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका पोखरेलले बताउनुभयो । ‘गणतन्त्रले के दियो, लोकतन्त्रले के दियो भनेर मण्डलेहरूले प्रश्न गर्दा पनि हामीले मुखभरिको जवाफ दिन सकेका छैनौँ’, उहाँले भन्नुभयो ।

नेकपा एमालेलाई जनताले सबैभन्दा नजिकबाट निहालेकाले त्यही अनुसार काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एमालेको नीति राष्ट्रको नीति बनाउने गरी लाग्न उहाँले जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । जनप्रतिनिधि कस्तो हुनुपर्दछ ? एमालेका जस्तो भन्ने सन्देश दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

महासचिव पोखरेलले गरेको काम पनि देखाउन नसक्ने एमालेको कमजोरी रहेको बताउनुभयो । काम गर्नु र गरेको काम देखाउनु त्यतिकै महत्त्वपूर्ण हुने उहाँको धारणा छ । आफूले गरेको काम देखाउने कुरामा पनि ध्यान दिन पोखरेलले आग्रह गर्नुभयो । गरेको कामको प्रचार प्रसारका लागि थोरै भए पनि बजेट विनियोजन गर्न उहाँले सुझाव दिनुभयो ।

एमाले र एमाले नेतृत्व माथि भइरहेका नकारात्मक प्रचारलाई चिर्न बढीभन्दा बढी काम गर्न र त्यसको प्रचार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। असल कामको प्रचार सामाजिक सञ्जालमा जति धेरै गर्न सकिन्छ खराब मान्छेहरूको प्रभाव सामाजिक सञ्जाल र आमसञ्चारमा घट्दै जाने उहाँको धारणा छ । यसले आफ्ना काम र पार्टीलाई बलियो बनाउने पोखरेलले बताउनुभयो।