काठमाडौं-गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) नेकपा (माओवादी केन्द्र)मा समायोजन भएको छ ।
सोमवार ललितपुरको ग्वार्कोमा एक कार्यक्रमबीच श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको हो। समायोजन कार्यक्रममा माओवादी केन्द्रका महासचिव देव गुरुङले श्रेष्ठ नेतृत्वको नेसपा माओवादी केन्द्रमा समायोजन भएको घोषणा गर्नुभयो । साथै, उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठबीच पाँच बुँदे सहमति भएको घोषणा गर्नुभयो।
उहाँकाअनुसार पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद हुने र पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरूपको समाजवादी क्रान्तिको हुने सहमति भएको बताउनु भयो । यस्तै उहाँले समाजवादी क्रान्तिका लागि परिस्थिति अनुसार सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्वन गरिने र तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने सहमति भएको बताउनु भयो । साथै पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीमा एकरूपताको जनवादी केन्द्रियता सैद्धान्तिक मान्यताअनुसार पार्टीलाई सञ्चालन गरिने र कतिपय वैचारिक विषयहरूमा महाधिवेशनसम्म पार्टी पङ्तीमा छलफल गर्न सकिने सहमति भएको उहाँले जानकारी गराउनु भयो। महासचिव गुरुङकाअनुसार श्रेष्ठलाई माओवादी केन्द्रको केन्द्रिय सचिवको जिम्मेवारी दिइएको छ।
उहाँले भन्नुभयो, ‘पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद हुनेछ । पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरूपको समाजवादी क्रान्तिको हुनेछ। समाजवादी क्रान्तिका लागि परिस्थितिअनुसार सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरूपलाई अवलम्बन गरिनेछ। तत्कालका कार्यनीतिका विषयमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिनेछ। पार्टीमा विचारको स्वतन्त्रता र काम कारबाहीमा एकरूपताको जनवादी केन्द्रियता सैद्धान्तिक मान्यता अनुसार पार्टीलाई सञ्चालन गरिनेछ। कतिपय वैचारिक विषयहरूमा महाधिवेशनसम्म पार्टी पङ्ती छलफल गर्न सकिनेछ । पार्टी समायोजनको नेतृत्व गरिरहनुभएका गङ्गानारायण श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र)को केन्द्रिय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरूलाई सम्मानजनक रूपमा सङ्गठनात्मक जिम्मेवारीसहितको कार्य विभाजन गरिनेछ।’
श्रेष्ठसहित १७ केन्द्रीय कार्यकारिणी सदस्य र करिब एक सय जना केन्द्रिय सदस्यहरू माओवादी केन्द्रमा समायोजन भएको बताइएको छ ।
प्रतिक्रिया