अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बैङ्क तथा वित्तीय सुधारका विधेयकमा व्यापकताको अनुभूति भएन: सांसद थापा

बैङ्क तथा वित्तीय सुधारका विधेयकमा व्यापकताको अनुभूति भएन: सांसद थापा


काठमाडौं-नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले बैङ्क तथा वित्तीय क्षेत्र सुधारका उद्देश्यसहित ल्याउने तयारी भइरहेको विधेयकमा व्यापकताको अनुभूति नभएको बताउनुभएको छ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवालासँगको छलफलमा भाग लिँदै सांसद थापाले यस्तो बताउनुभएको हो । उहाँले बैङ्कमा खरबौँ रकम थुप्रने तर लगानी नहुने परिस्थिति कानूनको अभावका कारण भएको हो भने त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । विभिन्न विज्ञहरूले मस्यौदामा उल्लेख भए अनुरुप नै विधेयक बनेमा अर्थतन्त्रमा उथलपुथलको स्थिति आउने भन्ने विषयमा नकारात्मक उथलपुथल नहुने गरी उथलपुथल गरिनुपर्ने सांसद थापाको भनाई थियो। उहाँले बैङ्कमा तरलता धेरै भएको र लगानी नभइरहेको समयमा उपयुक्त कानूनी प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बैङ्क तथा वित्तीय क्षेत्र सुधारका लागि जुन उद्देश्यसहित विधेयक ल्याउने तयारी भइरहेको छ त्यसमा व्यापकतामा छैनन् कि भन्ने अनुभूति भइरहेको छ मस्यौदा अध्ययन गर्दाखेरि । त्यसकारण सैद्धान्तिक अवधारणा नबोक्ने हो भने संशोधनको औचित्य छ कि छैन बाफियाको २०७३ ऐनमा यो संशोधन जरुरी छ कि छैन भन्ने एउटा प्रश्न । विज्ञहरूले त्यस विषयमा छर्लङ पारिदिनुभयो भने राम्रो हुन्थ्यो । किनभने यसको सैद्धान्तिक अवधारणा संयोगले पूर्व अर्थमन्त्री वर्षमान पुनको उद्देश्य र कारणको मन्तव्यमा र सैद्धान्तिक अवधारणा पुस्तकमा छ । त्यसअनुसारका यसअघि र आज पनि विज्ञहरूले राखेका विषयहरू औचित्यपूर्ण हो कि होइन भन्ने मनमा जिज्ञासा लाग्या छ । सम्बद्ध व्यक्तिको परिभाषामा बैंकर र उद्योगी एउटै व्यक्ति हुने कि नहुने भनेर छलफलको विषय पनि उठाउनुभयो । सञ्चालकहरू स्वतन्त्र हुनुपर्छ भन्ने विषयमा भने यस विषयसँग सम्बन्धित पूर्व अर्थमन्त्रीहरूले प्रष्ट पारिदिनुहुने छ । अब दुई तिन वटा कुराहरूमा निर्मम हुनुपर्छ । सङ्घसंस्थाका साथीहरूका भनाई अनुसार यो विधेयक बन्दा उथलपुथल हुन्छ भने हुनुपर्छ । नकारात्मक उथल पुथल चाहिँ हुनुभएन । बैंकमा खरबौं रुपैयाँ थुप्रने लगानी नहुने परिस्थिति कानुनका कारणले सिर्जना भएको छ भने त्यो बाटोमा जानुपर्छ । तरलता धेरै छ तर लगानी भइरहेको छैन । त्यसैले हामीले उपयुक्त कानूनी प्रबन्ध गर्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।’