काठमाडौँ-प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकसहितका नेताहरुबीचको छलफल सकिएको छ।
हिजो संसदमा विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध गरेपछि प्रधानमन्त्री ओलीसँग कांग्रेसका सभापति देउवाले गृहमन्त्री लेखकलाई सँगै लिएर छफफल गर्नुभएको थियो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका शीर्ष नेतृत्वसहित प्रधानमन्त्रीको छलफलले गृहमन्त्रीको राजीनामा असम्भव रहेको निष्कर्ष निकालेको छ। छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले उठेका विषयमा संसदमा प्रष्ट पार्ने सहमति भएको छ।
विपक्षीले सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री ओली, सभापति देउवा, गृहमन्त्री लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए ।
आजको सदनमा गृहमन्त्री रमेश लेखकले सदन र बाहिर आफूमाथि उठेका विषयमा जवाफ दिने र त्यसका लागि सभामुखसमक्ष समय माग्ने बैठकमा सहभागी एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। मुख्य सचेतक बर्तौलाले भने, ‘भोलि बजेट ल्याउनुपर्नेछ। एउटा कर्मचारीको विषयलाई लिएर संसद अवरुद्ध गर्नु राम्रो होइन। प्रतिपक्षीले त्यो कुरा बुझ्नुपर्छ भन्ने हाम्रो आग्रह हो।’
हिजो विपक्षीको मागअनुसार संसद स्थगित भएको र आज विपक्षीले सदन चलाउन सहयोग गर्नुपर्ने निष्कर्षसहित छलफल सकिएको उहाँले बताउनु भयो।
भिजिट भिसा प्रकरणमा भएका कुरा के हो भन्ने गृहमन्त्रीले सदनबाट जवाफ दिने सरकारको तयारी छ। त्यही अनुसार सभामुखलाई समय व्यवस्थापनका लागि आग्रह गरिनेछ।
प्रतिक्रिया